• २८ फागुन २०८२, बिहिबार

कैलालीमा ५९ उम्मेदवारको धरौटी जफत

blog

धनगढी समाचारदाता 

धनगढी, फागुन २६ गते ।  कैलालीमा पाँच निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तीन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना उम्मेदवार छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुनै पनि निर्वाचन क्षेत्रमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ । 

कैलाली क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार द्वारिका न्यौपानेसहित १६ जनाको जमानत जफत भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन पाएका स्वतन्त्र उम्मेदवार फागुराम थारू, उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीलगायतले धरौटी जोगाउन सक्नुभएन । कुल ५४ हजार ७९ मत सदर भएको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारले जमानत जोगाउन कम्तीमा पाँच हजार ४०८ मत प्राप्त गर्नुपर्ने थियो । 

क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नन्दबहादुर साउँदसहित ११ जना उम्मेदवारको जमानत जफत भएको छ । साउदले चार हजार ३६९ मत प्राप्त गर्नुभयो । ५६ हजार २०५ मत सदर भएको यस क्षेत्रमा धरौटी जोगाउन उम्मेदवारले कम्तीमा पाँच हजार २६४ मत प्राप्त गर्नु आवश्यक थियो । 

क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवं एमाले उम्मेदवार गौरीशङ्कर चौधरीसहित सात जना उम्मेदवारको धरौटी जफत भएको छ । चौधरीले चार हजार ७५२ मत प्राप्त गर्नुभयो । ५६ हजार ४३३ मत सदर भएको यो निर्वाचन क्षेत्रमा धरौटी जोगाउन कम्तीमा पाँच हजार ६४४ मत ल्याउन आवश्यक थियो । 

क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार हरिराम चौधरी उत्सवसहित १३ उम्मेदवारको धरौटी जफत भएको छ । ५८ हजार २६३ कुल सदर मत भएको यस निर्वाचन क्षेत्रमा धरौटी जोगाउन कम्तीमा पाँच हजार ८२९ मत ल्याउन आवश्यक थियो । चौधरीले पाँच हजार ६०९ मत प्राप्त गर्नुभयो । 

क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार यज्ञराज ढुङ्गानासहित १२ उम्मेदवारको जमानत जफत भएको छ । कुल ६२ हजार १४७ मत सदर भएको क्षेत्रमा जमानत जोगाउन कम्तीमा छ हजार २१ मत प्राप्त गर्नु आवश्यक थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका रोशन शाही, जनमत पार्टीका धनबहादुर चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्ण पुनमगर, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, स्वतन्त्र उम्मेदवार प्यारेलाल राना, ईश्वरी विष्टको जमानत जफत भएको छ । आमजनता पार्टीका देवसिंह विष्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बबरजङ्गबहादुर सिंह, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, राजमोका शोभामणि जोशी, मितेरी पार्टी नेपालका राधिकाकुमारी कार्कीको जमानत जफत भएको छ । 

गत निर्वाचनमा कैलालीमा शक्तिशाली देखिएको नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरी र पतिराम चौधरीले मात्रै जमानत जोगाउन सफल हुनुभयो । उक्त पार्टीका अन्य उम्मेदवारको धरौटी जफत भएको छ ।

नेकपाका जोशीसहित आठ जना 

२०६४ सालमा भएको संविधान सभा सदस्यमा विजयी हुनुभएका नेकपाका नेता लक्ष्मणदत्त जोशीको यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जमानत जफत भएको छ । 

दार्चुलामा जोशीसहित आठ जना उम्मेदवारको जमानत जफत भएको हो । नेकपाका जोशीले तीन हजार ५९२ मत मात्रै प्राप्त गर्नुभएको छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उहाँले यहाँबाट २९ हजार ४०४ मत प्राप्त गर्नुभएको थियो । 

यहाँ प्रत्यक्षतर्फ जम्मा ४९ हजार ९३७ मत खसेकोमा ४७ हजार ८९० मत सदर भएको थियो । सदर मतको १० प्रतिशत अर्थात् चार हजार ७८९ मत ल्याउन नसकेका आठ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेकपाका लक्ष्मणदत्त जोशी, राप्रपाका राजेश चन्द, नेकपा (माओवादी) का नवराज भट्ट रहनुभएको छ । राप्रपाका चन्दले ६६६ मत मात्रै प्राप्त गर्नुभएको छ, भने नेकपा (माओवादी) का भट्टले २९८ मत प्राप्त गर्नुभएको छ । 

राष्ट्रिय जनमोर्चाका विर्खराज पन्तले ८६, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का विद्यादेव जोशीले ४१, आमजनता पार्टीका प्रेमसिंह बडालले ३४, सङ्घीय लोकतान्त्रिक मञ्चका गगन ठगुन्नाले १९ र नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले १८ मत प्राप्त गर्नुभएको छ । 

जमानत जफत हुने दस

प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत डडेलधुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ । डडेलधुरामा १३ जना उम्मेदवार थिए । 

डडेलधुरामा ४३ हजार ६७ मत सदर भएकाले जमानत जोगाउन उम्मेदवारले कम्तीमा चार हजार ३०७ मत ल्याउनुपर्ने थियो ।  एमालेका स्नेहीले भने दुई हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उहाँको जमानत जफत भएको हो ।

जमानत जफत हुने अन्य उम्मेदवारमा राप्रपाका गोविन्द खडायत, आमजनता पार्टीका खडकबहादुर ठकुराठी, राजमोका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर रहनुभएको छ । 

स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको पनि जमानत जफत भएको छ । यहाँ तीन जना उम्मेदवारले जमानत जोगाउनुभएको छ । जसमा रास्वपाका डा. ताराप्रसाद जोशी (विजयी), नेपाली कांग्रेसका नैनसिंह महर र नेकपाका मानसिंह माल रहनुभएको छ ।