अर्जुन काफ्ले
स्याङ्जा, फागुन २६ गते । फागुन २१ गते भएको प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचनमा स्याङ्जामा करिब पाँच हजार मत बदर भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेका यहाँ समग्रमा एक लाख ३६ हजार ७९ मत खसेकोमा चार हजार ९१२ मत अर्थात ३.६१ प्रतिसत बदर भएको हो ।
यहाँ क्षेत्र नं. १ मा ७० हजार ९४९ मत खसेकोमा दुई हजार ९१३ मत अर्थात् ४.१० प्रतिशत बदर भएको हो । यस्तै क्षेत्र नं. २ मा ६५ हजार १३० मत खसेकोमा एक हजार ९९९ मत अर्थात् ३.०७ प्रतिशत बदर भएको हो ।
यहाँ समानुपातिकभन्दा प्रत्यक्षमा धेरै मत बदर भएको हो । प्रत्यक्ष तर्फ कुल पाँच हजार ५७० अर्थात ४.०९९ प्रतिसत मत बदर भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो ।
दुई निर्वाचन क्षेत्रमा दुई लाख ४८ हजार ८१६ मतदाता रहेकोमा एक लाख ३५ हजार ८७२ मत खसेको थियो ।
मतदाता शिक्षाका लागि विभिन्न वडामा स्वयंसेवक परिचालन गरेर कार्यक्रम सञ्चालन गरिए पनि बदर मतको संख्या अपेक्षा अनुसार घट्न नसकेको थापाले बताउनुभयो ।