• २५ फागुन २०८२, सोमबार

वास्तविक परीक्षाअघि नमूना एसईई सुरु

blog

नमूना एसईई परिक्षामा सहभागी विद्यार्थी । तस्बिर : शंकर केसी

शंकर केसी

सल्यान, फागुन २५ गते । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा ५ ले कक्षा १० का विद्यार्थीलाई यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार बनाउन सोमबारदेखि नमूना परीक्षा सुरु गरेको छ । विद्यार्थीलाई आत्मविश्वासी बनाउने उद्देश्यले नमूना परीक्षा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतका अनुसार विद्यार्थीलाई परीक्षा प्रणालीबारे व्यावहारिक अनुभव दिलाउन र उनीहरूको सिकाइस्तर सुधार गर्न नमूना परीक्षा सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई परीक्षा प्रणालीमा अभ्यस्त गराउन र उनीहरूको सिकाइ स्तर सुधार गर्न यस्ता अभ्यास परीक्षाले मद्दत पुग्छ कि भनेर वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यस वर्ष पनि नमूना परीक्षा सञ्चालन गरिएको हो ।”

नमूना परीक्षामा वडा भित्रका दुई विद्यालयका विद्यार्थी सहभागी भएका छन् । महेन्द्र माध्यमिक विद्यालय पाखापानीका २२ जना र त्रिभुवन जनता माध्यमिक विद्यालय चौरपानीका १८ जना गरी ४० जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । 

परीक्षामा सहभागी विद्यार्थीमा उत्साह देखिएको शिक्षकहरूले बताएका छन् । यस्तो अभ्यास परीक्षाले वास्तविक एसईई परीक्षाको वातावरण बुझ्न र तयारीलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिभावकहरूले पनि नमूना परीक्षा जस्ता अभ्यास कार्यक्रमले विद्यार्थीलाई परीक्षाप्रति जिम्मेवार र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

वडा अध्यक्ष बस्नेतका अनुसार यो कार्यक्रम विगतका वर्षदेखि नै सञ्चालन हुँदै आएको छ । यसले विद्यार्थीको शैक्षिक सुधार तथा आत्मविश्वास बढाउन सकारात्मक प्रभाव पारेकाले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने योजना रहेको उहाँले बताउनुभयो । 

नमूना परीक्षामा प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने सम्पूर्ण प्रक्रिया वास्तविक एसईई परीक्षाको ढाँचामा सञ्चालन गरिएको छ । यसले विद्यार्थीलाई समय व्यवस्थापन, प्रश्न बुझ्ने क्षमता तथा उत्तर लेख्ने शैलीमा सुधार गर्न सहयोग पुग्ने शिक्षकहरूको भनाइ छ ।