• २५ फागुन २०८२, सोमबार

निकुञ्जमा खरखडाइका लागि २१ हजार स्थानीयवासी प्रवेश

blog

स्थानीयले खर काटेर निकुञ्जको छेउमा संकलन गर्दै । यहाँबाट गाडामा राखेर घरसम्म लगिन्छ । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन २५ गते । बर्दिया राष्ट्रिय निकुञ्जले दुई दिनको लागि खरखडाइ सुरु गरेको छ । निकुञ्जमा खर, बाबियो नर्कट लगायतको चिजवस्तु काट्न स्थानीयहरू निकुञ्जभित्र पसेका छन् । 

हरेक वर्ष खरखडाइका लागि दुई दिन निकुञ्ज खुल्ला गरिँदैआएको छ । निकुञ्जमा खरखडाइका लागि २१ हजार छसय जना स्थानीयवासी प्रवेश टिकट खरिद गरेका छन् । खरखडाइका लागि आइतबार र सोमबारका लागि खुल्ला गरिएको निकुञ्ज पदाधिकारीले जनाएका छन् । 

खरखडाइका लागि ५० रुपियाँ राजस्व र ५० रुपियाँ संरक्षण शुल्क गरी एकसय रुपियाँ प्रवेश शुल्क लिने गरिएको छ ।  निकुञ्ज वरिपरिका १८ वटा स्थानबाट स्थानीवासी प्रवेश गरेका छन् । 

निकुञ्जमा बिहान ७ बजेपछि मात्र प्रवेश गरी साँझ ५ बजेभन्दा अगाडि निस्कनु पर्ने नियम छ । त्यसैगरी खरखडाइ, बनकस, नर्कट बाहेकका वन पैदावर संकलन तथा निकासी गर्न नपाइने व्यवस्था गरिएको छ । निकुञ्जभित्र कागज, कपडा, प्लास्टिकजन्य फोहर र आगो लाग्ने सामान लैजान नपाइने व्यवस्था गरिएको छ । 

खरखडाइको लागि दिइएको पूर्जी सम्बन्धित व्यक्तिसमक्ष अनिवार्य रुपमा हुनुपर्ने निकुञ्जले जनाएको छ । खरखडाइको समयमा वन्यजन्तुको आक्रमण नहोस् र स्थानीयवासी सुरक्षित हुन् भनेर निकुञ्जको प्राविधिक टोली, नेपाली सेना, गेमस्काउट, चोरीशिकार युवा परिचाल अभियानमा संलग्न युवा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति परिचालन गरिएको छ । 

खरखडाइको पहिलो दिन बर्दिया राष्ट्रिय निकुञ्जभित्र चितुवाले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका वडा २ कर्मला निवासी सुरेश थारूलाई चितुवाले आक्रमण गर्दा सामान्य घाइते भएका छन् । निकुञ्जभित्र कुनै पनि घटना भएमा तत्काल उद्धार गरी उपचारका लागि लैजाने  बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनुभयो । उहाँले निकुञ्जमा कुनै पनि घटना नहोस् भनेर उच्च सर्तकता अपनाएको बताउनुभयो ।