राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २५ गते । स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् ।
लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान केन्द्रमा भोट खसाल्न पुगेका कसुरदारहरु समातिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका–५ का ४० वर्षीय प्रेमबहादुर दर्जी घर नजिकैको तालपोखरीमा मतदान गर्न गएको फागुन २१ गते समातिएका हुन् । प्रेम कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका कसुरदार भएको प्रहरीले जनाएको छ ।
यस्तै पुतलीबजार नगरपालिका–५ सुरौदीका ५८ वर्षीय बुद्धिमान् शाहीलाई सोही वडाको कटुन्जेचौरमा मतदान गर्न गएको समयमा पक्राउ परेका हुन् । दुई वटा बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र दुई लाख ६३ हजार जरिवाना तोकिएको थियो ।
यस्तै आँधीखोला गाउँपालिका–४ सरादीका ७४ वर्षीय रामबहादुर कामी सोही वडाको सेपत सिरानचौरमा मतदान गर्न पुगेको समयमा पक्राउ परेका हुन् । बहुविवाहको मुद्दामा दुई बर्ष पाँच महिना १३ दिन कैद तथा २५ हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत स्याङ्जामा पठाईएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।