टोकियो, फागुन २५ गते । क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चर सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप-१२ ल्यान्ड-टु-शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
जापानले बढ्दो क्षेत्रीय तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने रणनीतिअनुसार यो कदम चालेको हो । मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले अपग्रेड गरिएको टाइप–१२ मिसाइल मार्चको अन्त्यसम्म क्याम्प केङ्गुनमा तैनाथ गरिने जानकारी दिनुभयो । यद्यपि तैनाथी सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । मिसाइलका लन्चर तथा अन्य सैन्य उपकरण बोकेका गाडी अत्यन्त गोप्य रूपमा मध्यरातमा शिविरमा पुगेका थिए ।
स्थानीय बासिन्दा मध्ये केहीले यस कदमको विरोध जनाउँदै शिविर बाहिर भेला भई ‘लामो दूरीका क्षेप्यास्त्र तैनाथी रोक्नुपर्छ’ भन्ने नारासहित ब्यानर प्रदर्शन गरेका थिए । यस कदमप्रति विपक्षी दल तथा स्थानीय प्रशासनले पारदर्शिताको अभाव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले यस्तो तैनाथीले क्षेत्रीय तनाव थप बढाउन सक्ने र स्थानीय क्षेत्र सम्भावित सैन्य आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
कुमामोटोका गभर्नर ताकाशी किमुराले प्रान्तीय प्रशासनलाई औपचारिकरूपमा जानकारी नदिइएको गुनासो गर्दै पत्रकारसँग भन्नुभयो, “प्रान्तलाई यसबारे कहिल्यै औपचारिक जानकारी दिइएको थिएन । मिडिया रिपोर्टबाट मात्र थाहा पाउनु अत्यन्त निराशाजनक हो ।” जापानले दक्षिणपश्चिमी क्षेत्रमा सैन्य संरचना विस्तार गर्ने योजनाअन्तर्गत यो मिसाइल तैनाथीलाई तीव्रता दिएको हो । ताइवान वरपरको बदलिँदो क्षेत्रीय परिवेशलाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउने पहल गरेको हो ।
सोही क्रममा रक्षा मन्त्रालयले गत वर्ष मिसाइल तैनाथीको समय तालिकालाई करिब एक वर्ष अगाडि सार्ने व्यवस्था गरेको थियो । मित्सुबिशी हेभी इन्डस्ट्रिजले विकास तथा उत्पादन गरेको अपग्रेड गरिएको टाइप–१२ मिसाइलको मारक क्षमता करिब एक हजार किलोमिटर (६२० माइल) रहेको छ । यो दायरा पहिलेको करिब २०० किलोमिटर (१२५ माइल) क्षमताबाट निकै विस्तार गरिएको हो । यसले जापानको मुख्य भूमिबाट चीनको भूभागसम्म पुग्न सक्ने क्षमता राख्ने बताइएको छ । यही मिसाइल प्रणाली यस वर्षको अन्त्यतिर टोकियोको पश्चिममा रहेको सिजुओका प्रान्तस्थित क्याम्प फुजीमा पनि तैनाथ गरिने योजना रहेको छ ।
पछिल्ला वर्षमा क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जापानले आफ्नो सुरक्षा तयारीलाई क्रमशः सुदृढ बनाउँदै आएको छ । सोही क्रममा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुमा सुरक्षा पूर्वाधार विस्तार गरिएको छ । ओकिनावा, इशिगाकी र मियाको लगायतका टापुमा पीएसी-३ अवरोधक प्रणाली तथा मध्यम दूरीका सतह-देखि-हावा मिसाइल प्रणाली पनि क्रमशः तैनाथ गरिएका छन् । गत महिना जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले सन् २०३१ मार्चसम्म ताइवानको पूर्वतर्फ रहेको जापानको पश्चिमी टापु योनागुनीमा मध्यम दूरीको सतह-देखि-हावा मिसाइल प्रणाली तैनाथ गरिने योजना सार्वजनिक गर्नु भएको थियो ।
प्रधानमन्त्री ताकाइचीले यस वर्षको अन्त्यसम्म जापानको सुरक्षा तथा रक्षा नीति पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँको सरकारले जापानी सेनालाई मानव रहित लडाकू प्रणाली तथा लामो दूरीका मिसाइलमार्फत अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । यसैबिच सरकार आगामी हप्तामा घातक हतियार निर्यात सम्बन्धी कडा प्रतिबन्ध खुकुलो बनाउने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्री ताकाइचीको दल र सत्तारूढ गठबन्धनका साझेदारले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार जापानको रक्षा उद्योगलाई विस्तार गर्ने तथा मित्र राष्ट्रसँग सैन्य सहकार्य बढाउने नीति अघि सारिएको छ । रासस/एपी