राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २५ गते । स्याङ्जामा पाँच हजार ५७० मत बदर भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा मत बदरको सङ्ख्या अत्यधिक देखिएको हो । आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लामा बदर बत सङ्ख्या धेरै रहेको पाइएको हो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ७० हजार ९४४ मत खसेकोमा दुई हजार ९०८ मत बदर भएको छ भने क्षेत्र नं. २ मा ६४ हजार ९२८ मत खसेकोमा दुई हजार ६६२ मत बदर भएको छ ।
बदर मत सङ्ख्या धेरै हुनु राम्रो विषय नभएको स्याङ्जा क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ निर्वाचन आयोगले मात्रै पहल गरेर हुँदैन मतदानालाई दलहरुले पनि राम्रोसँग सिकाउनु पर्दछ । सवैले सहकार्य गर्नु पर्नेमा जोड उहाँको जोड छ ।
मतदाता शिक्षाको कमीका कारण मत बदर धेरै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।
राजनीतिक दलहरु र निर्वाचन कार्यालय स्याङ्जाले समेत मतदाता शिक्षामा ध्यान समेत नदिईएको पाइएको हो ।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले ११ वटै पालिकाका वडा तहमा सहजकर्ता खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
जिल्लामा समानुपातिक तर्फको मतगणना भइरहेकाले यसमा बदर मत बढ्न सक्ने बताइएको छ ।