नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २५ गते । बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित सुशिल खड्काले भनसुनका काम लिएर आफु र आफ्नो सचिवालयमा नआउन आग्रह गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएको दोस्रो दिन बागलुङ बजारमा सम्पर्क सचिवालयको कार्यालय शुभारम्भ गर्दै खड्काले भनसुन लिएर आफु र सचिवालयमा नआउन सबैसँग आग्रह गर्नुभएको हो । खड्काले बानपा–३, गुठीमा आफ्नो सचिवालयको सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो ।
सामान्य भनसुन गर्ने, यता भनिदे, उता भनिदे होइन, मुद्दा मिलाइदिनु पर्यो जस्ता भनसुनका कुरा लिएर नआउनु होला, सांसद खड्काले भन्नुभयो, ‘‘अन्यायमा परेको विषय, दुख पाएको विषय छ भने फेरी म, देशभर जहाँ भए पनि सक्रिय भएर लाग्नेछु ।’’
सचिवालयमा राजनीतिक विषय हेर्ने जिम्मेवारी झपेन्द्र केसी र विकास निर्माण लगायत जनताका सरोकारका विषय हेर्ने जिम्मेवारी अभिशेक कटुवाललाई दिएको जानकारी खड्काले गराउनुभयो ।
अहिले सानो सचिवालय बनाएका छौ, पार्टीसँग समन्वय गरेर सचिवालयको सम्पर्क कार्यालयलाई थप व्यवस्थित र नियमित गराउनेछौ, खड्काको भनाइ थियो ।
सचिवालयले हेल्प डेक्सका रुपमा ब्याख्या गरेका सांसद खड्काले सम्पर्क कार्यालयबाट जनताबिच प्रत्यक्ष सम्वाद, सहकार्य र समन्वय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जनताका गुनासा सुन्ने, सुझाव लिनका लागि सम्पर्क कार्यालयमा रहेको टिम सदैव सक्रिय रहने पनि उहाँले जानकारी गराउनुभयो ।
हामीले काम मागेका थियौं, जनताले काम गर्ने जिम्मेवारी दिनु भएको छ, अब हामी निरन्तर काममा छौँ । चुनावका बेला मत माग्न आए जस्तै सबै वडामा धन्यवाद यात्रा गर्ने तयारी गर्दैछौ, खड्काले कार्यक्रममा जानकारी गराउनुभयो ।
चुनावी कमाण्डर रोशन कार्कीको नेतृत्वमा सबै वडामा निर्वाचन परिचालन समिति, महिला तथा युवाहरुका समिति, जिल्ला बाहेक अन्य शहर र विदेशबाट समेत चुनाव जिताउन महत्त्वपूर्ण सहयोग भएको भन्दै खड्काले सबैलाई धन्यवाद दिनुभएको छ ।