फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २५ गते । वि.सं. २०७९ को चुनावबाट गण्डकी प्रदेशबाट पाँच दलले सङ्घीय सांसदमा प्रतिनिधित्व गरेका थिए । प्रत्यक्ष निर्वाचनबाट यसपालि दुई दलका सांसदमात्र सङ्घीय संसदमा हुने पक्का भएको छ । अघिल्लो पटक पाँच सिट जितेको नेकपा (एमाले), दुई सिट जितेको तत्कालीन नेकपा (माओवादी केन्द्र) र एक सिटमा विजय हाँसिल गरेको राष्ट्रिय जनमोर्चा गण्डकीबाट जितविहीन बनेका छन् ।
प्रत्यक्षतर्फका १८ सिटमध्ये १६ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हाँसिल गरेको छ । २०७९ को चुनावमा प्रदेशमा एक सिट पनि नजितेको रास्वपाले २०८० को उपचुनावमा तनहुँ १ जितेको थियो । तीन वर्षको अन्तरालमा रास्वपाले प्रदेशमा अनपेक्षित सफलता हाँसिल गरेको छ ।
म्याग्दीमा रास्वपाले समर्थन गरेका स्वतन्त्र उम्मेदवार महावीर पुनले ठुलो मतान्तरले जित हाँसिल गर्दा मनाङ र मुस्ताङमा मात्र नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मनाङमा एमाले र राप्रपाको समेत समर्थन पाउनुभएका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ सांसद निर्वाचित हुनुभएको हो । गुरुङलाई रास्वपाको उम्मेदवारी नै नपर्नु अर्काे अनुकूलता रह्यो ।
मुस्ताङमा निवर्तमान सांसद योगेश गौचन थकालीले जित दोहोर्याउँदा जिल्लामा रास्वपाले जबर्जस्त उपस्थिति बनाएको देखियो । समानुपातिकतर्फ रास्वपा दोस्रो बन्यो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जित्ने दाबी गरेका गोरखाका दुवै क्षेत्रमा ठुलो मतान्तरले रास्वपाले जित हाँसिल गर्यो ।
गोरखा क्षेत्र नम्बर १ मा रास्वापका सुधन गुरुङ र क्षेत्र नम्बर २ मा रास्वपाकै कविन्द्र बुर्लाकोटी चुनिनुभयो । क्षेत्र नम्बर २ मा नेकपाका लेखनाथ न्यौपाने निकै कम मतसहित दोस्रो हुँदा क्षेत्र नम्बर १ मा नेकपा निकटमत प्रतिस्पर्धी पनि बन्न सकेन । नेपाली कांग्रेसका उम्मेदवारले यहाँ दोस्रो स्थान पाए ।
अघिले निर्वाचनमा गण्डकीबाट १० सिट जितेको नेपाली कांग्रेसका उम्मेदवार धेरैजसो ठाउँमा निकै कम मतसहित दोस्रो स्थानमा आएका छन् । अघिल्लो पटक दुवै क्षेत्र जितेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) यसपालि रास्वपाले कांग्रेसबाट खोसेको छ । क्षेत्र नम्बर १ मा राजन गौतम र दुईबाट मनिष खनालले जित हात पार्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा २०८० मा भएको उपनिर्वाचनमा जित निकाल्नुभएका रास्वपा उपसभापति डा स्वर्णीम वाग्लेले यसपालि सोही क्षेत्रबाट शानदार जित निकाल्नुभयो । क्षेत्र नम्बर २ मा कांग्रेसबाट निर्वाचित निवर्तमान सांसद शंकर भण्डारीलाई रोक्दै रास्वपाका श्रीराम न्यौपाने सङ्घीय सांसद चुनिनुभएको छ ।
स्याङ्जा १ मा धनञ्जय दवाडी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेले जित हाँसिल गर्नुभएको छ । अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन तोडेर गण्डकीका पाँच सिट जितेको एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङमा दोस्रो बन्नुभयो । उहाँलाई रास्वपाका धर्म केसीले हराउनुभयो । एमालेका उम्मेदवार पदम गिरीलाई हराउँदै पर्वतमा पनि रास्वपाका सागर भुसाल सांसद बन्नुभएको छ ।
एमालेका लागि कास्कीको नतिजा सबैभन्दा अनपेक्षित आइदियो । अघिल्लो निर्वाचनमा तीनै क्षेत्र जितेको एमाले क्षेत्र नम्बर दुईमा निकटतम प्रतिस्पर्धी बन्यो, क्षेत्र नम्बर १ र ३ मा तेस्रो स्थानमा सीमित भयो । क्षेत्र नम्बर १ मा गनेस पौडेल, २ मा उत्तम पौडेल र ३ मा विना गुरुङ तीनै जना रास्वपा उम्मेदवारले तेब्बर मतान्तरले जित निकाल्नुभयो ।
बागलुङमा अघिल्लो पटक एक÷एक सिट जितेका राष्ट्रिय जनमोर्चा र नेकपा तेस्रो स्थानमा सीमित बने । यी दुई दलबिच बागलुङमा चुनावी गठबन्धन भए पनि जित निकाल्न काफी भएन । क्षेत्र नम्बर १ बा सुशील खड्का र क्षेत्र नम्बर २ बाट सोम शर्माले जित हाँसिल गर्नुभएको छ ।
प्रत्यक्षमा १६ स्थान जितेको रास्वपा समानुपातिकतर्फ पनि निकै अघि छ । गण्डकी प्रदेशमा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।