• २५ फागुन २०८२, सोमबार

सप्तरीमा रास्वपाको क्लिन स्विप, क्षेत्र २ को इतिहास कायमै

blog

सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको रास्वपाका उम्मेदवारहरु ।

विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन २५ गते ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रामजी यादव, क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सीताराम साह फराकिलो मतान्तरले विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरीले ३८ हजार १९५ मत ल्याई निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित साहले सात हजार ८४७ मत प्राप्त गर्नुभयो।

क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याई निर्वाचित हुनुभयो। उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो।

क्षेत्र नम्बर ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मतमा सीमित हुनुभयो।

क्षेत्र नम्बर ४ मा रास्वपाका सीताराम साहले ३६ हजार ४१२ मत ल्याएर विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्नुभयो।

हेभीवेट नेताको पराजय
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीमा हेभीवेट नेताहरू पराजित भएका छन्। मधेशवादी दलका प्रमुख नेतादेखि पूर्व मुख्यमन्त्रीसम्मले पराजय भोग्नुपरेको हो।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तेस्रो स्थानमा रहँदै रास्वपाका रामजी यादवसँग १८ हजार ५२४ मतान्तरले पराजित हुनुभयो।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह पनि रास्वपाका रामजी यादवसँग २४ हजार ८४७ मतान्तरले पराजित हुनुभयो।

यस्तै क्षेत्र नम्बर ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव १७ हजार ६३६ मतान्तरले रास्वपाका अमरकान्त चौधरीसँग पराजित हुनुभयो।

क्षेत्र नम्बर ४ बाट लगातार तीन पटक निर्वाचन जितेर ह्याट्रिक बनाइसकेका पूर्वमन्त्री तेजुलाल चौधरी रास्वपाका सीताराम साहसँग २३ हजार ३०९ मतान्तरले पराजित हुनुभयो।

दोहोरिएर नजित्ने इतिहास कायमै
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ले दोहोरिएर चुनाव नजित्ने इतिहासलाई यसपटक पनि कायम राखेको छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि नयाँ उम्मेदवारलाई जिताउँदै यहाँका मतदाताले पुरानो परम्परालाई निरन्तरता दिएका हुन्।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव विजयी हुनुभएको छ। यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको थियो। तर यसपटक उहाँ नौ हजार ८८० मत प्राप्त गरी तेस्रो स्थानमा सीमित हुनुभयो।

२०५६ सालयता सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट कुनै पनि उम्मेदवार दोहोरिएर जित्न सकेका छैनन्। २०४८ र २०५१ सालको निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट गजेन्द्रनारायण सिंह विजयी हुनुभएको थियो। तर २०५६ को निर्वाचनमा उहाँ नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरीसँग १६ मतले पराजित हुनुभएको थियो। त्यसयता उक्त क्षेत्रमा कुनै पनि उम्मेदवारले लगातार दोस्रो पटक जित हासिल गर्न सकेका छैनन्।