• २७ फागुन २०८२, बुधबार

रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपा अग्रस्थानमा

blog

मतगणना हुँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, फागुन २५ गते ।
रुकुमपश्चिममा समानुपातिक निर्वाचन तर्फको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म चार वटा पालिकाअन्तर्गतका मतदान केन्द्रहरुको मतगणना सम्पन्न भएको छ ।

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको मतगणना सकिएको हो ।

उहाँका अनुसार हालसम्म नेपाल कम्युनिष्ट पार्टीकै अग्रता रहेको छ । जिल्लामा समानुपातिकतर्फ कुल एक लाख सात हजार ७४९ मतदाता रहेकोमा ४२ हजार २७१ मत गणना भएको हो । गणना भएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले १३ हजार ४४७, नेपाली कांग्रेसले नौ हजार ७६०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ हजार १९९, प्रगतिशिल लोकतान्त्रिक पार्टीले पाँच हजार ४८० र नेकपा एमालेले चार हजार २१० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा (माओवादी)ले ३६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २०५ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाले २१, आम जनता पार्टीले ३०, नेकपा (सयुक्त)ले २२, नेपाल मजदुर किसान पार्टीले १० र श्रम संस्कृति पार्टीले १६६ मत प्राप्त गरेका छन् ।

विभिन्न ५७ पार्टीको चुनाव चिन्हमा मत खसेको छ । हालसम्म गणना भएको मध्ये ४० हजार ७२८ मत सदर भएको छ भने एक हजार ५४३ मत बदर भएको छ ।