काठमाडौँ, फागुन २४ गते । धनुषाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम घोषणा नगर्न अनुरोध गरेको छ।
उक्त निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत अरुण अधिकारीका अनुसार आयोगले फागुन १८ गते गरेको उम्मेदवारी खारेज गर्ने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ।
उहाँका अनुसार अदालतबाट यस विषयमा अन्तिम आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न नगराउन अनुरोध गरिएको छ।
मतगणना भइसके पनि आयोगले उक्त क्षेत्रको परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारीलाई निर्वाचन आयोगले फागुन १८ गते खारेज गरेको थियो। उम्मेदवारको सूचीबाट उहाँको नाम हटाइए पनि मतपत्र छापिसकिएकाले ‘घण्टी’ चिह्न कायमै थियो, जसमा मतदाताले उल्लेख्य मतदान गरेका छन्।