• १३ असोज २०८१, आइतबार

रुस–युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

blog

काठमाडौँ, साउन ५ गते ।  मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ । रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालमा मात्र नभई भारतलगायत अन्य देशमा समेत अक्सिजेनेटरको अभाव रहेको बताउनुभयो । उहाँले अस्पतालमा आकस्मिक शल्यक्रियाका लागि केही अक्सिजेनेटर राखिएको  बताउनुभयो । उहाँले पछि गर्न मिल्ने शल्यक्रिया मात्र हाललाई स्थगित गरेको बताउनुभयो ।

अक्सिजेनेटर ल्याउने जिम्मा पाएको ठेकेदारलाई चाँडो ल्याउन ताकेता गरिए पनि विश्व बजारमा अक्सिजेनेटरको अभाव भएकाले समस्या भएको दाबी उहाँले गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले भने केन्द्रमा अक्सिजेनेटर अभाव छ भन्ने विषयमा कुनै जानकारी नै नभएको बताउनुभयो । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा तत्काल अभाव नरहे पनि समस्या पर्ने देखिएको छ । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भन्नुभयो, “गङ्गालालमा मुटुसम्बन्धी मात्रै शल्यक्रिया गरिने भएकाले अभाव भएको हो, विस्तारै मनमोहनमा पनि अभाव हुनसक्ने सम्भावना बढिरहेको छ ।”

नेपालमा प्रयोग हुने अधिकांश अक्सिजेनेटर भारतबाट आयात हुने र हाल भारतमा पनि अभाव भएकाले समस्या झेल्नु परेको उहाँले बताउनुभयो । विश्व बजारमा अक्सिजेनेटरको उत्पादन कमी भएका कारण त्यसको असर नेपाललाई परेको उहाँको भनाइ छ । 

कार्यकारी निर्देशक डा. श्रेष्ठले मुटुका कतिपय शल्यक्रिया पछाडि सार्न मिल्ने हुनाले पछि गर्न मिल्ने शल्यक्रिया सार्न सकिने बताउनुभयो । 

यस्तै धुम्बाराहीस्थित ह्याम्स अस्पतालले पनि हालसम्म अक्सिजेनेटर अभाव नभएको जनाएको छ । अस्पतालका कार्यकारी प्रमुख आरएस भण्डारीले मुटुसम्बन्धी शल्यक्रियाका लागि हस्तामा दुई÷तीन जनाको केस मात्र आउने भएकाले अक्सिजेनेटरको अभाव नभएको जानकारी  दिनुभयो । 

विश्व बजारमा अक्सिजेनेटर अभाव भएकोबारे टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको थियो ।  समाचारमा अहमदाबादमा अक्सिजेनेटर अभावका कारण मुटुको शल्यक्रिया प्रभावित भएको उल्लेख छ । 

के हो अक्सिजेनेटर ? 

ओपन हार्ट सर्जरी गर्दा मांसपेशीको भल्ब तथा धमनी उपचारका लागि छाती चिरेर मुटु, फोक्सोमा मेसिन राखिन्छ । उक्त मेसिनलाई ड्रेनेज ट्युबहरूमार्फत मुटुमा जोडिएको हुन्छ । रक्त प्रणालीलाई भेनस प्रणालीबाट अक्सिजेनेटरतर्फ लैजाने काम गरिन्छ । अक्सिजेनेटरले कार्बन डाइअक्साइड हटाउँछ र रगत सञ्चारमा अक्सिजन थप गर्न मद्दत गर्छ ।