काठमाडौँ, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२२ क्षेत्रमा विजयी भएकोे छ ।
आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५८ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ ।
त्यस्तै, नेकपा (एमाले)सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ ।यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ५६ लाख २१ हजार ९६१ मतगणना सम्पन्न भएको छ ।
त्यसमध्ये रास्वपाले २७ लाख ६३ हजार ५८८, कांग्रेसले नाै लाख २९ हजार ९७३, एमालेले आठ लाख एक हजार ८५९ र नेकपाले तीन लाख ८२ हजार ६३५, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ । रासस