• २५ फागुन २०८२, सोमबार

मदिरा पसलमा आगजनी, लाखौंको क्षति

blog

आगजनी गरिएको मदिरा पसल ।

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २४ गते । महोत्तरीको गौशाला-१०, इमली बजारस्थित एक मदिरा पसलमा आगजनी भएको छ । बजारको मध्यभागमा रहेको दीपेन्द्र मदिरा पसलमा आगजनी हुँदा ९ लाख मूल्य बराबरको धनमालको क्षति भएको जनाइएको छ । 

आगजनी गरेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बजारका प्रत्यक्षदर्शी एवं सिसी क्यामराको फुटेज अनुसार आगजनी शनिबार  (हिजो) मध्यराति करिब १ बजेतिर भएको देखिएको छ । 

घटनास्थल नजिकै रहेको पप्पु ट्रेडर्सका प्रोपराइटर प्रमोद महतोका अनुसार मध्य रातको समयमा अनुहार छोपेर आएका एकजना अपरिचित व्यक्तिले पसलमा पेट्रोलजस्तो पदार्थ छर्केर आगो लगाइ पूर्वतर्फ भागको फुटेजमा देखिएको छ । 

आगो दन्केर काठको पसल घर रहेको मदिराका बोतलहरू ठुला आवाजमा पडकन थालेपछि छिमेकी पसलेहरूले थाहा पाएपछि हारगुहार गर्दै स्थानीय व्यवसायी र गाउँलेको प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 

त्यसबेलासम्म पसल पूर्णतः जलिसकेको थियो । पीडित मदिरा पसले दीपेन्द्र महतोका अनुसार आफू शनिबार (हिजो) राति करिब ११ बजेतिर पसल बन्द गरी एक किलोमिटर पश्चिम रहेको कालीपुरस्थित घरमा सुत्न गएको मौका छोपी सुनसान पसलमा आगजनी गरेको बताउनुभयो । 

उहाँका अनुसार आगोले करिब ५ लाखका मदिरा, कोक, फ्रुटी, फ्रिज, पसल घर, आवश्यक बिल, हिसाब किताबको खाताबही लगायत करिब १० लाख मूल्य बराबरको धनमाल खरानी भएको बताउनुभयो ।