इस्लामाबाद, फागुन २४ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण नागरिक छन् ।
प्रहरीका अनुसार, घटना स्थानीय समय अनुसार साँझ करिब ५ बजे एक बजार क्षेत्रमा प्रहरीको नियमित गस्तीको समयमा भएको थियो । विस्फोट मुख्य बजारमा रहेको सुपरमार्केटको मुख्य ढोकाको नजिक राखिएको बम (आइइडी) विस्फोट हुँदा भएको हो । विस्फोटपछि स्थानीय बासिन्दा, प्रहरी टोली र उद्धारकर्मीले तत्काल राहत कार्य सुरु गरी घाइतेलाई नजिकैको अस्पतालमा पुर्याए । अस्पताल स्रोतका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीले घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायलाई घाइतेको उत्तम उपचारको व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । उहाँले मृतक प्रहरीको परिवारप्रति सहानुभूति व्यक्त गर्दै दुःख व्यक्त गर्नुभयो । स्थानीय सुरक्षा बलले घटनाको पूर्ण अनुसन्धानको लागि टिम खटाएको छ र बजार क्षेत्रमा सुरक्षा कडा गरिएको छ । घटनाले समुदायमा भय र तनाव फैलाएको छ भने अधिकारीले थप सुरक्षा उपाय लागु गर्न थालेका छन् । रासस/सिन्ह्वा