रवीन्द्र उप्रेती
बर्दीबास, फागुन २४ गते । महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ।
क्षेत्र नं. २ को बनौटास्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका साह ३२ हजार ७२२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी एवं पूर्वमन्त्री शरदसिंह भण्डारी २२ हजार ५२४ मतान्तरले पराजित हुनुभएको छ।
यसै क्षेत्रबाट विगतका दुई वटा निर्वाचनमा भारी मतले जित हासिल गर्दै आउनुभएका भण्डारीले यो निर्वाचनमा भने १० हजार १९८ मत मात्र प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत तथा नेकपा (एमाले) का कासिम नदाफले ३ हजार ५२४ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७ मत मात्र प्राप्त गर्नुभएको छ।
निर्वाचन अधिकृत शोभाकर पराजुलीका अनुसार कुल १ लाख ७ हजार ५९४ मतदाता रहेको क्षेत्र नं. २ मा चौसट्ठी हजार ५९४ मत खसेको थियो। यसमध्ये ५९ हजार १४७ मत सदर र ५ हजार ४४९ मत बदर भएको पराजुलीले जानकारी दिनुभयो।