• २४ फागुन २०८२, आइतबार

अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठुलो क्षति, ४२ जहाज ध्वस्त

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङटन, फागुन २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गर्नुभएको छ । फ्लोरिडा राज्यको डोराल सहरमा आयोजित ‘शिल्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेतालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । 

ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठुलो क्षति पुर्‍याएको छ । उहाँले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणालीसमेत ठप्प पारिएको दाबी गर्नुभयो । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताउनुभएको छ ।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ‘ठुलो सैन्य अभियान’ सुरु गरेको बताउनुभएका थिए । उक्त अभियानपछि क्षेत्रीय तनाव तीव्ररूपमा बढेको छ । इरानले त्यसको प्रतिकार स्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली लक्ष्यमा लगातार प्रतिआक्रमण गरिरहेको बताइएको छ । अर्ध-सरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक साताको अवधिमा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छ भने करिब दुई हजार ६०० वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाएको छ । 

ती आक्रमण अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यमा केन्द्रित रहेको बताइएको छ । विश्लेषकका अनुसार अमेरिका, इजरायल र इरानबिच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको छ । पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइएको छ । रासस/सिन्ह्वा