अनिल पराजुली
हेटौँडा, फागुन २४ गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्र निर्माण, सुशासन, सामाजिक रूपान्तरण तथा आर्थिक समृद्धिमा महिलाको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार शुभकामना दिँदै उहाँले महिलाको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण तथा नेतृत्व विकासमा समान र प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक, सुरक्षित र समान अवसरयुक्त समाज निर्माणतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । साथै समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नारासहित मनाइँदै आएको ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसले समान अधिकार, अवसर र सम्मानका लागि भएका ऐतिहासिक संघर्ष तथा उपलब्धिहरूको स्मरण गराउँदै लैङ्गिक समानता र सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।