अनिल पराजुली
हेटौँडा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन मकवानपुरको मतगणना शुक्रबार १०ः३० बजेबाट सुरु हुने भएको छ । दुबै निर्वाचन क्षेत्रको मत पेटिका मत गणना स्थल हेटौँडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आइसकेको छ ।
सबै मत पेटिका आएसँगै शुक्रवार बिहान भएको सर्वदलीय बैठक पश्चात १०ः३० बजेबाट मत गणना गर्न राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र स्वतन्त्र उम्मेदवार सहमत भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार भएको मतदानमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको थियो । मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेकोमा एक लाख ८६ हजार ५५१ अर्थात् ५९ प्रतिशत मत खसेको हो । ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र ५ जना तेस्रो लिङ्गीले मतदान गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा गरिने छ । मकवानपुरमा ४४ जना उम्मेद्वार प्रतिष्पर्धामा हुनुहुन्छ । निर्वाचन क्षेत्र नं.१ मा दलका १३ जना र स्वतन्त्र १० सहित २३ जना र निर्वाचन क्षेत्र नं. २ मा दलका १६ जना र स्वतन्त्र पाँच जना सहित २१ जना उम्मेदवार हुनुहुन्छ ।