ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २२ गते । म्याग्दीमा मतगणना सुरु गरिएको छ । गणना जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठक पश्चात मतगणना थालिएको हो ।
धवलागिरि गाउँपालिका १ गुर्जा स्थित जनकल्याण मावि मतदान केन्द्रको मतपेटिका र वडा नम्बर २ स्थित लम्सुङ मावि मतदान केन्द्रको मतपेटिका मिसाएर मतगणना थालिएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार एक भन्दा धेरै मतदान केन्द्र रहेका वडाहरुको हकमा वडा अनुसार मतगणना गर्ने राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरु बीच सहमति भएको छ । प्रत्येक दुई/दुई घण्टाको फरकमा मतगणनाको नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना स्थलमा तारजाली लगाउनुका साथै र सिसिटिभी जडान गरिएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. पुन सहित नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक र नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको छ ।