गंगा कुमारी मिजार
रसुवा, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका तीन मतदान केन्द्रको मतगणना परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा देखिनुभएको छ।
कालिका गाउँपालिका–२ कालिकास्थानस्थित कालिका हिमालयन क्याम्पस, आमाछोदिङ्मो गाउँपालिका–१ स्थित आरुखर्क आधारभूत विद्यालय तथा उत्तरगया गाउँपालिका–१ गतलाङका मतदान केन्द्रको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्राप्त मत परिणामअनुसार मोहन आचार्यले एक हजार ४२३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ७१४ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले ५६५ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारमध्ये उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ११५ मत, नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद लामिछानेले ६९ मत तथा मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङले २१ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले ११ मत तथा कम्युनिस्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्यले छ मत प्राप्त गर्नुभएको छ।
तीन मतदान केन्द्रबाट कुल तीन हजार ६५ मत खसेको छ। तीमध्ये दुई हजार ९२७ मत सदर भएका छन् भने १३८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।