जनार्जन खत्री
सर्लाही, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा छिटपुटबाहेक शान्तपूर्वक रुपमा मतदान सम्पन्न भइ बिहीबार साँझदेखि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सर्लाही जिल्लाभर करिव ६० प्रतिसत मत खसेको भनी प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमा पाँच लाख ११ हजार ६०६ जना मतदातामध्ये आधा भन्दा केही बढीले मतदान गरेको प्रारम्भिक विवरण आएको हो ।
सम्पूर्ण मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका प्राप्त भएपछि कूल खसेको मतको एकिन विवरण प्राप्त हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएसँगै मुचुल्का उठाउनेलगायत प्रक्रियागत काम सकेर निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका ल्याउने काम धमाधम जारी रहेको हो ।
स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको उपस्थिति र उत्साह कम देखिन्थ्यो । बिहान सबेरै र खाना खाएपछिको समयमा प्रायः मतदान केन्द्रहरुमा भीड देखिए पनि दिउँसो १ बजेपछि भने जिल्लाका अधिकांश मतदान केन्द्रहरु सुनासन देखिन्थे ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले एक÷दुई ठाउँमा सामान्य विवाद हुनुबाहेक जिल्लाभर शान्तपूर्वक रुपमा मतदान सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–४, जब्दीमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबिच विवाद भएपछि केही समय मतदान रोकिएको थियो ।
त्यहाँ तत्कालै प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको सुरक्षा अधिकारीको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि सामान्य ढङ्गले मतदान कार्य सम्पन्न भएको छ । क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित जनता मावि भवानीपुर मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबिच विवाद हुँदा केहीबेर मतदान रोकिन पुगेको थियो ।
क्षेत्र नं. ४ को जब्दी र भवानीपुरबाहेक जिल्लाभर रहेका ६२८ मतदान केन्द्रमा कहिँकतै विवाद नभइ शान्तिपूर्वक रुपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी अघि बढाइएको छ ।
सबै मतदान केन्द्रबाट मतपेटिका आएपछि मतगणना सुरु गर्नेबारे सर्वदलिय बैठक राखिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिसहितको बैठक बसेर आचारसंहिता तयार पारेपछि मात्र मतगणना सुरु हुने छ ।
सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा मतपेटिका जम्मा हुन र निर्वाचन अधिकृतको कार्यालयले बुझ्ने कार्य सम्पन्न हुन मध्यरात नै हुने अनुमान गरिएको छ । त्यसपछि सर्वपक्षिय बैठक बस्ने छ ।
बैठकले मध्यराति देखि नै मतगणना सुरु गर्ने निर्णय गरे बिहीबार रातिदेखि नै सुरु गरिने र अन्यथा शुक्रबार बिहानबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । उहाँका अनुसार चारवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि तारजाली र सीसी क्यामेरा जडान गरेर मतगणनास्थल तयार पारिसकिएको छ ।
क्षेत्र नं. १ को लालबन्दी १० चन्द्रपुरस्थित १० नं. वडा कार्यालय, क्षेत्र नं. २ को मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हल, क्षेत्र नं. ३ को हरिवनस्थित नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना हुने छ ।