वासिङ्टन, फागुन २१ गते । मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान र इजरायलबिच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा सङ्कट र विश्व शक्तिबिच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको सङ्केत दिएका छन् ।
बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । विस्फोटपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानले जनाएको छ । यसैबिच इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चार माध्यमले बताएका छन् ।
उक्त आक्रमणपछि तेल अभिवसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी दिइएको थियो । एएफपीका पत्रकारका अनुसार जेरुसेलममा पनि चेतावनी साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको थियो । तर इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जनाएको छ । इजरायलले लेबनानमा पनि आक्रमण जारी राखेको छ । बासिन्दालाई चेतावनी दिएपछि बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा हवाई आक्रमण गरिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ । खाडी क्षेत्रमा पनि तनाव देखिएको छ । कुवेत नजिकको समुद्री क्षेत्रमा भएको ‘ठूलो विस्फोट’पछि एउटा तेल ट्याङ्करमा क्षति पुगेको र तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ ।
एजेन्सीका अनुसार लङ्गरमा रहेको ट्याङ्करका कप्तानले बन्दरगाह नजिक ठूलो विस्फोट देखेको र त्यसपछि एउटा सानो जहाज त्यहाँबाट निस्किएको बताएका छन् । इरानसँगको तनाव बढेपछि कतारले पनि सावधानी अपनाएको छ । कतारको आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिक बसोबास गर्ने दोहाका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको जनाएको छ ।
टर्कीले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरिएको जनाएको छ । उक्त क्षेप्यास्त्र इरानबाट प्रक्षेपण भई इराक र सिरिया हुँदै टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको बताइएको छ । रक्षा मन्त्रालयले लक्ष्य स्पष्ट नगरे पनि विदेश मन्त्रालयले इरानका राजदूतलाई बोलाएर स्पष्टीकरण मागेको छ ।
एक टर्की अधिकारीका अनुसार क्षेप्यास्त्र ग्रीक साइप्रसको एउटा सैन्य आधारतर्फ लक्षित गरिएको भए पनि मार्ग परिवर्तन भएको थियो । युद्धको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध मोर्चामा अमेरिकी प्रदर्शनको प्रशंसा गर्नुभएको छ । टेक उद्योगका प्रमुखको भेलामा बोल्दै उहाँले अमेरिकी कारबाहीलाई अत्यन्त सफल भन्दै युद्धको मूल्याङ्कन ‘१० को मापनमा १५’ जस्तो रहेको टिप्पणी गर्नुभयो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि वासिङ्टन र तेल अभिवले संयुक्त रूपमा युद्धमा ‘ऐतिहासिक लाभ’ हासिल गरेको दाबी गरेको छ । अमेरिकी आन्तरिक राजनीतिमा भने यस युद्धलाई लिएर मतभेद देखिएको छ । अमेरिकी सिनेटले इरानमाथिको सैन्य कारबाही रोक्ने उद्देश्यले ल्याइएको द्विदलीय प्रस्ताव अस्वीकार गरेको छ । सिनेटमा रिपब्लिकनको ५३-४७ बहुमत रहेको र प्रस्ताव त्यही मतान्तरले असफल भएको हो ।
उक्त प्रस्तावले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्ने प्रयास गरेको थियो । युद्धमा अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि फरक-फरक देखिएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले बढ्दो द्वन्द्वमा भूमिका निर्वाह गर्नुपर्ने सम्भावना नकार्न नसकिने बताउनुभएको छ । क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटका क्रममा उहाँले क्यानाडा आफ्ना सहयोगीसँग उभिने बताउनुभयो ।
यता स्पेनले भने अमेरिकाले आफ्नो सैन्य आधार प्रयोग गरेको भन्ने दाबी अस्वीकार गरेको छ । अमेरिकी व्यापारिक प्रतिशोधको धम्कीपछि ह्वाइट हाउसले स्पेन सहयोग गर्न तयार भएको जनाएको थियो । तर स्पेनका विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले इरानमाथिको बमबारीका लागि आफ्नो देशको नीति परिवर्तन नभएको स्पष्ट गर्नुभयो ।
चीनले भने कूटनीतिक पहल अघि बढाउने सङ्केत दिएको छ । विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा तनाव कम गर्न विशेष दूत पठाइने बताउनुभएको छ । बेइजिङ इरानको घनिष्ठ साझेदार मानिन्छ र उसले इरानको सार्वभौमिकताको समर्थन गर्दै अमेरिका र इजरायललाई सैन्य आक्रमण रोक्न आग्रह गर्दै आएको छ ।
यसैबिच कतारले पनि इरानप्रति असन्तुष्टि व्यक्त गरेको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानका विदेशमन्त्रीसँग फोनमा कुरा गर्दै तेहरानले आफ्ना छिमेकीलाई युद्धमा तान्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । समुद्री व्यापारमा पनि युद्धको प्रभाव देखिन थालेको छ । डेनमार्कको ठूलो शिपिङ कम्पनी मार्सक र जर्मनीको हपाग–लोयडले जोखिम मूल्याङ्कनपछि अर्को सूचना नआउन्जेल खाडी क्षेत्रतर्फका बुकिङ स्थगित गरेका छन् ।
यसअघि चीनको कोस्कोले पनि यस्तै निर्णय लिएको थियो । इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ । होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक मानिन्छ । ओमानको नौसेनाले पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा मिसाइल प्रहार भएको कन्टेनर जहाजका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्याङ्करलाई अमेरिकी नौसेनाले एस्कर्ट गर्न तयार रहेको बताएको एक दिनपछि इरानी सेनाले जलडमरूमध्यमा आफ्नो ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको थियो । युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ । श्रीलङ्काली नौसेनाका एक अधिकारीका अनुसार श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपीडो प्रहार गरी डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको छ । उहाँका अनुसार उद्धार टोलीले हालसम्म ती शव सङ्कलन गरिसकेको जनाएको छ । रासस/एएफपी