• १९ फागुन २०८२, मङ्गलबार

मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान

blog

इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाईंदै । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) फागुन १९ गते । इलाममा निर्वाचन सम्पन्न भएर मतगणना गर्नका लागि स्थान तोकिएसँगै गणना स्थललाई सुरक्षित राख्नका लागि गणना स्थलमा तारजाली र सीसी क्यामेरा लगाउन थालिएको छ । 

इलाम क्षेत्र नं. १ को मतगणना स्थल सूर्योदय नगरपालिकाको भवन तोकिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजालीसँगै सीसी क्यामेरा जडान गरेको हो । 

क्षेत्र नं. १ का निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले गणना स्थललाई सुरक्षित राख्नका लागि तारजाली लगाउने काम थालिएको र भोली दिनभरमा तारजाली लगाई सकिने जानकारी दिनुभयो । उहाँले गणना स्थललाई सुरक्षित र पारदर्शी बनाउनका लागि गणना स्थलमा सीसी क्यामेरा जडान गरीएको जानकारी दिनुभयो । 

इलामको निर्वाचन क्षेत्र नं. २ मा समेत गणना स्थलमा तारजाली लगाएर सीसी क्यामेरा जडान गरिएको छ । 

दुुई निर्वाचन क्षेत्र रहेको इलाम जिल्लामा एक सय ५२ मतदान केन्द्रमा निर्वाचन सामग्री लिएर पुगेका मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र निर्माणको काम सम्पन्न गरेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिनुभयो । अधिकांश मतदान केन्द्रमा सर्वदलिय बैठक समेत सम्पन्न भैसकेको छ । 

मौषम प्रतिकुल भएर पानी पर्न थालेपछि सबै केन्द्रमा त्रिपालको ब्यवस्था गर्न भनीएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालका लागि सबै ठाउमा निर्वाचन सामग्री भिज्ने अवस्थामा छैन, मतदानको दिनलाई मध्यनजर गरी त्रिपालको व्यवस्था गर्न भनीसकेका छौं ।’

निर्वाचन सम्पन्न गराउन इलाममा एक हजार सात सय ४० कर्मचारी खटिएका छन् । इलाममा एक सय ५० स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा दुई सय ९० मतदान स्थल रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलाममा दुई लाख ३१ हजार ८०९ मतदाताले मतदान गर्ने छन । इलामको क्षेत्र नं. १ मा १३ र क्षेत्र नं.२ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।