• १८ फागुन २०८२, सोमबार

मत संरक्षणमा उम्मेदवारको ध्यान

blog

जीवछ यादव
लहान, फागुन १८ गते ।
प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारको समय फागुन १८ गतेबाट सकिन लाग्दा मौन अवधिमा मत संरक्षण कसरी गर्ने भन्ने रणनीतिमा उम्मेदवारहरू केन्द्रित हुन थालेका छन्। यसैबीच, सुरक्षित र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायको सक्रियता पनि बढाइएको छ।

मौन अवधिमा मतदातालाई प्रभावित गर्न रकम बाँड्ने, मदिरा र मासु खुवाउने जस्ता परम्परागत अभ्यास विगतका निर्वाचनदेखि हुँदै आएको छ। यस पटक पनि त्यस्तै गतिविधि हुन सक्छ कि भन्ने अनुमान गर्दै उम्मेदवारहरूले मत संरक्षणका रणनीतिहरू बनाइरहेका छन्।

नागरिक अगुवा गोविन्द यादवका अनुसार, चुनाव जित्ने सम्भावना रहेका दलले मतदातालाई प्रभावित पार्न नदिने रणनीति बनाइरहेका छन् र दारु–खाद्यान्नबाट सुरक्षा उपाय अपनाइरहेका छन्।

सिरहा जिल्लाका नागरिक अभियन्ता र वरिष्ठ लेखक रामरिझन यादवले भने, “पुराना दलका उम्मेदवारहरू र नयाँ दलका उम्मेदवारहरूको आमनेसामने प्रतिस्पर्धामा मतदाताले विवेकपूर्ण मतदान गर्न सक्ने संकेत दिइसकेका छन्। तथापि मत संरक्षण चुनौतीपूर्ण रहेकोले सुरक्षा निकायको सक्रिय परिचालनले अवैध फाइदा उठाउन नदिनेछ।”

होली पर्वको अवसरमा मतदातालाई प्रभावमा पार्ने सम्भावना भएकाले, प्रत्येक निर्वाचन क्षेत्रमा मदिरा, खानपान र रकम वितरण नियन्त्रण गर्न कडाइ गरिएको छ। सिरहा जिल्ला प्रमुख अधिकारी सुरेन्द्र पौडेलले यसबारे जानकारी दिनुभयो।

सिरहा प्रहरीले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयमुक्त बनाउन तीन हजार सुरक्षाकर्मी परिचालन गरेको छ। यसमा नेपाली सेना ८ सय, सशस्त्र प्रहरी ८ सय र नेपाल प्रहरी १४०० जना रहेका छन्। जिल्लामा २२३ मतदान स्थल र ५३१ मतदान केन्द्र तोकिएका छन्।

चारवटै निर्वाचन क्षेत्रमा ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। यसमा १३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायले शङकास्पद गतिविधिमाथि निगरानी पनि बढाएको छ।