ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १८ गते । म्याग्दीको बेनीमा मतगणना स्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणना स्थल तयार पारेको हो ।
मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभयो । तारजाली लगाएपछि मतगणना कार्य सुरक्षित र पारदर्शी हुने उहाँले बताउनुभयो ।
मतगणना स्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गणना स्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणना स्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको छ ।
मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मतगणना सुुरु भएपछि गणना स्थलको सुरक्षा कडा पारिने छ । तारबार लगाइएको छ । मतगणना स्थलमा सिसी क्यामेरा राखिएको छ । कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’’ उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँ समेत तयार पारिएको छ ।