बाबुराम कार्की
वराहक्षेत्र, फागुन १८ गते । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा गाउँसहर सबैतिर चुनावी लहर फैलिएको छ तर सप्तकोशी नदीको छालसँगै बगेर आउने दाउरा सङ्कलन गरेर जीवनयापन गर्नेलाई भने चुनावी लहरले खासै छोएको छैन ।
सप्तकोशी नदीले बगाएर ल्याएको दाउरा खोजेर बर्साैंदेखि परिवार पाल्दै आएकालाई न चुनावी लहरले छोएको छ न त दलले ल्याएको घोषणापत्रको वास्ता छ । दशकौँदेखि नदीले बगाएर ल्याएको दाउरा तानेर जीविका चलाउँदै आएका विनोद कविरथ चुनावमा खासै चासो नरहेको बताउनुहुन्छ । उहाँलाई चुनावभन्दा परिवारको पेट पाल्ने चिन्ता छ ।
डुङ्गाको सहारामा सप्तकोशी नदीमा बगेर आउने दाउरा खोजेर कोशी कोरिडोरआसपासका बासिन्दाले जीविका चलाउँदै आएका छन् । डोरीको सहायताले नदीबाट दाउरा तान्दै गरेका कविरथले भन्नुभयो, “ज्यान जोखिममा राखेर नदीबाट दाउरा खोजेर छाक टार्नु पर्छ । परिवार पाल्नका लागि आफ्नै पाखुरा खियाउनु पर्छ । चुनाव आउँछ, जान्छ तर हाम्रो दैनिकीमा केही फेरबदल हुने होइन ।”
चुनावमा जसले जिते पनि आफ्नो मर्म र भावना कसैले नबुझेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, “हामीलाई चुनावभन्दा पनि दाउरा भेटिन्छ कि भेटिँदैन भन्ने चिन्ता बढी छ ।”
वर्षायामका चार महिना नदीको बाढीमा पूर्वी पहाडी जिल्लाबाट अत्यधिक दाउरा बगेर आउँछ । वर्षा ऋतुबाहेक अन्य समयमा नदीको दाउराले छाक टार्न पनि मुस्किल हुने हुनाले ज्याला मजदुरी गर्नुपर्ने स्थानीय २२ वर्षीय दिनेश मोचीले बताउनुभयो । उहाँले भन्नुभयो, “पारिवारिक स्थितिका कारण न पढाइ पूरा भयो न विदेश नै जान सकियो । अन्य कुनै रोजगार नपाउँदा बाध्यताले कोशीको छालमा दिनहुँ हेलिनु परेको छ ।”
सानै उमेरदेखि दाउरा खोजेरै परिवार पाल्दै आएकाहरू भोटभन्दा पनि परिवारको गर्जो टार्नमै व्यस्त छन् । नदी क्षेत्रमा दाउरा खोज्नेहरू बिहानै निस्केदेखि बेलुका अबेर घर फर्कने गर्छन् । स्थानीय शिवकुमार मण्डल भन्नुहुन्छ, “बाहिरी वातावरणमा घुलमिल नहँुदा नदीभन्दा पर कहाँ के भइरहेको छ कुनै वास्ता पनि छैन, थाहा पनि छैन । बकुलाले माछा ताके जस्तै दाउरा ताक्नुमा नै हाम्रो दिन ढल्छ ।”
वराहक्षेत्र–७, ८ र ९ का अधिकांश युवाको दैनिकी कोशी नदीबाट दाउरा तनेर जम्मा गरी बजार पु¥याउनु नै हुन्छ । दैनिक दुई दर्जनभन्दा बढी काठका डुङ्गामा सप्तकोशी नदीमा दाउरा खोज्न युवा जाने गर्छन् ।