उर्लाबारी समाचारदाता
उर्लाबारी, फागुन १८ गते । मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ । बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले शनिबार बेलबारी–१, ४, ८, १० र कानेपोखरी–५ का जङ्गलसँग जोडिएका २० परिवारलाई मौरीको घार वितरण गरेको हो । हात्तीविज्ञले मौरीको घार रहेको स्थानमा हात्ती नआउने सुझाव दिएपछि साझेदारी वनले मौरीको घार वितरण गरेको हो । उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीले भन्नुभयो, “मौरीपालनबाट आयआर्जन गर्न र हात्तीबाट बचाउन सकिन्छ भन्ने सुझावलाई दृष्टिगत गरेर उपभोक्तालाई मौरीको घार वितरण गरेका हौँ ।” उहाँले प्रतिघार १० हजार आठ सय रुपियाँमा घार खरिद गरी उपभोक्तालाई वितरण गरिएको जानकारी दिनुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “यस्तो उपाय प्रभावकारी भएमा कार्यक्रम अझ विस्तार गरिने छ ।” मौरीको आवाजसँग हात्ती डराउने र सघन रूपमा मौरीपालन भएको स्थानमा हात्ती प्रवेश नगर्ने हात्तीविज्ञको भनाइ छ ।
मोरङमा पछिल्ला केही वर्षयता मानव–हात्ती द्वन्द्व बढेको छ । खास गरी भारतबाट नेपाल आएका हात्तीले मोरङको मिक्लाजुङ, कानेपाखेरी, केराबारी गाउँपालिका र उर्लाबारी, पथरी शनिश्चरे, लेटाङ, बेलबारी, सुन्दरहरैँचा नगरपालिकामा ठुलो जनधनको क्षति गर्दै आएका छन् । एक दशकअघिसम्म चुनावका बेला हात्ती नियन्त्रणको विषय झापामा मात्र उठ्ने गथ्र्यो तर यस पटक मोरङमा पनि हात्ती नियन्त्रणको विषय दलको घोषणापत्रमा उल्लेख भएको छ । हात्तीपीडितले मौरीपालनका कारण हात्ती नियन्त्रण गर्न सहज भएमा व्यावसायिक रूपमा मौरीपालन गर्ने बताएका छन् ।