अनिल पराजुली
हेटौँडा, फागुन १८ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले होली मेलमिलापको पर्व भएको बताउनुभएको छ । सोमबार होली पर्व २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले होली पर्वले समाजमा रहेका विभेद, कटुता र द्वेषलाई त्यागी मेलमिलाप, सहकार्य र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको हो ।
उहाँले होली पर्व सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको छ । होली केवल रङहरूको उत्सव मात्र नभई मनका मैलाहरू पखाल्दै आपसी कटुता, द्वेष र असहिष्णुतालाई परित्याग गर्ने सन्देश दिने सांस्कृतिक पर्व भएको उहाँको भनाइ छ ।
रङहरूको विशेष पर्व होलीको अवसरमा प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, उल्लास र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
वसन्त ऋतुको आगमनसँगै फाल्गुन पूर्णिमाका दिन पहाडी भेगमा र त्यसको भोलिपल्ट तराई क्षेत्रमा होली पर्व एकआपसमा रङ्ग दलेर तथा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ मनाउने परम्परा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
होली पर्व आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मिय सम्बन्धको प्रतीक भएको बताउँदै उहाँले खराब प्रवृत्तिको दहन गरी सत्य र न्यायको स्थापना गर्ने सन्देश यो पर्वले दिने धारणा राख्नुभएको छ । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै उहाँले यही विविधताबिचको एकता नै नेपालीहरूको पहिचान र सुन्दरता भएको बताउनुभएको छ ।