• १८ फागुन २०८२, सोमबार

कोरला नाका तीन दिन बन्द हुने

blog

चीनसँग सिमाना जोडिएको कोरला नाका । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), फागुन १८ गते ।   यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन चिनसँग सिमाना जोडिएको कोरला नाका बन्द गरिने भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चिनसँग सीमा जोडिएका कोरलासहित आसपासका क्षेत्रका सीमा क्षेत्रमा कडाइ गरिने बताउनुभयो । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ । 

समुद्रीसतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रमा रहेका स्थानीयसमेत सो अवधिमा बस्तीमा झर्ने भएका छन् । सदरमुकाम जोमसोम–कोरला ११० किमी सडकखण्ड क्षेत्रमा फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका लागि बन्द गरिने छ । 

यसैबिच कोरला नाका बन्दका बारेमा चिनियाँ अधिकारीलाई समेत जानकारी गराउने र आवश्यकता अनुसार संयुक्त गस्तीसमेत गरिने छ । हाल उपल्लो मुस्ताङमा निर्वाचनलक्षित बेसक्याम्प बनाएर बसेको नेपाली सेनाको इन्द्र बक्स गणसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको निर्वाचनलक्षित गस्तीसहित निगरानीसमेत बढाइएको छ ।

निर्वाचनको सुरक्षालाई हेरेर मुस्ताङमा छ दिनका लागि मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जारी सूचनामा निर्वाचन मतपरिणाम सार्वजनिक नहुँदासम्म मदिराजन्य पदार्थको सेवन तथा बिक्रीवितरणलाई पूर्ण रूपमा निषेध गरिएको हो । फागुन १५ गतेदेखि २१ गते बिहीबार मतगणना सम्पन्न नहुँदासम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवन गर्नेलाई कडा निगरानीमा राखिने सहायक प्रजिअ भण्डारीको भनाइ छ ।