राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आआफ्नो पक्षमा मत तान्नका लागि सबै दलले आआफ्नो योजना सार्वजनिक गरेका छन् । दलहरूको केन्द्रीय रणनीतिसँग मिल्ने योजनासहित पूर्वाधार, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल भौतिक पूर्वाधार तथा आधारभूत विषयलाई आफ्ना एजेन्डामा समेटेका छन् । सबै दलका उम्मेदवारले यहाँको सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषयलाई साझा मुद्दा बनाएका छन् ।
२०२९ वैशाख २५ मा तत्कालीन राजा वीरेन्द्रवीर विक्रमले उद्घाटन गर्नुभएको यो राजमार्ग भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । झन्डै ६० वर्ष पुरानो यो मार्ग साँघुरो, घुम्ती र जीर्ण बन्दै गइरहेका कारण हाल कालीगण्डकी कोरिडोरलगायतका वैकल्पिक मार्गको प्रयोग
बढ्दो छ । जसले मार्ग वरपरका बजार ओझेलमा पर्ने स्थानीय चिन्ता बढेको छ । यस क्षेत्रको विकासका लागि सिद्धार्थ राजमार्ग महìवपूर्ण रूपमा हेरिन्छ । गएका केही निर्वाचनमा यो राजमार्गको मुद्दा निरन्तर उठ्ने गरेको छ । लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा रहेको यो राजमार्गको विषयले धेरै मतदाताको ध्यान तान्ने गरेको छ ।
यहाँका मतदातालाई प्रभावमा पार्न दलका उम्मेदवारले यो सिद्धार्थ राजमार्गलाई चुनावी एजेन्डा बनाउँदै आएका छन् । यसअघि यही राजमार्गको नारा दिएर गोपालमान श्रेष्ठ, पद्माकुमारी अर्याल, धनराज गुरुङ, नारायण मरासिनी, राजु थापा निर्वाचित भइसकेका छन् तर हालसम्म राजमार्ग स्तरोन्नति अधुरै रहेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । वर्तमान सरकारले एसियाली पूर्वाधार लगानी बैङ्कबाट सिद्धार्थ राजमार्ग सुधारका लागि दुई मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसका स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार भागवत प्रकाश मल्लले सिद्धार्थ राजमार्गलाई विशेष प्राथमिकता दिएर चुनावी एजेन्डा बनाएको दाबी गर्नुभयो । त्यसै गरी क्षेत्र नं. २ मा एमाले उम्मेदवार खिमबहादुर थापाले सिद्धार्थ राजमार्गको स्तरोन्नतिसँगै तराई पहाड जोड्ने उद्देश्यले कालीगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने योजना आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
क्षेत्र नं. १ का उम्मेदवार मीनप्रसाद गुरुङले सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी स्याङ्जा–पाल्पा–रुपन्देही आर्थिक कोरिडोरका रूपमा विकास गर्ने योजना अघि सार्नु भएको छ । स्याङ्जा क्षेत्र नं.१ का कांग्रेस उम्मेदवार भरतराज ढकालले आफू विजयी भएमा सिद्धार्थ राजमार्गलाई प्राथमिकता दिएर काम गर्ने दाबी गर्नुभयो । नेकपाका उम्मेदवारहरू शैलेन्द्र घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू धनन्जय रेग्मीलगायतका उम्मेदवारले पनि सिद्धार्थ राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आउनुभएको छ ।