नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १८ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन तीन दिन मात्रै बाँकी रहँदा बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रमुख दलका उम्मेदवारबिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नयाँ उम्मेदवारले चुनौती दिइरहेका छन् ।
कोहलपुर–११ का दीपक रैदासले एमालेका निवर्तमान सांसद सूर्य ढकाल विरासत जोगाउन कियाशील रहँदा कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेपाली कम्युनिस्ट पार्टी बाँकेका संयोजक नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरीले कडा चुनौती दिनुभएको बताउनुभयो ।
उहाँका अनुसार एमाले उम्मेदवार अघिल्लो निर्वाचनमा विजयी हुनुभएको हो । यो दोस्रो पटक ढकाल चुनावी मैदानमा हुनुहुन्छ भने कांग्रेसका गौडेल र रास्वपाका चौधरी पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । नेकपाका पाण्डे २०७४ सालको तत्कालीन नेकपा माओवादीको जित फर्काउने दाउमा हुनुहुन्छ ।
लुम्बिनी प्रदेस सभा सदस्य र नेकपाबाट राजीनामा दिएर बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी ‘नमुना’ पनि चुनावी मैदानमा उत्रिनुभएको छ । राप्तीसोनारी–४ का दिनेश चौधरीका अनुसार यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा प्रमुख दलबिच हुने स्थिति देखिएको छ ।
एमालेका उम्मेदवार ढकालले आफूले गत तीन वर्षमा जनताका पक्षमा विकासका धेरै काम गरेकाले फेरि पनि आफूले जित्ने दाबी गर्दै आउनुभएको छ । कांग्रेसका उम्मेदवार गौडेलले कांग्रेसका इमानदार कार्यकर्ताले धेरै वर्षपछि रुखमा मत हाल्न पाएकाले कांग्रेसका नेता कार्यकर्ता र समर्थक उत्साहित भएकाले आफूले जित्ने दाबी गर्नुभयो ।
रास्वपाका चौधरीले आफू नयाँ उम्मेदवार भएकाले यहाँका मतदाताले आफूलाई जिताउने दाबी गर्नुभयो । नेकपाका पाण्डेले यो क्षेत्र तत्कालीन माओवादीको आधार क्षेत्र भएको र अहिले माओवादी एकीकृत दल बनेकाले आफूले जित्ने दाबी गर्नुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार केसीले आफूले दुई पटक प्रदेश सभाको सदस्य भएर काम गर्दा यो क्षेत्रको थुप्रै विकास गरेको हुँदा सोही आधारमा जनताले मत दिने दाबी गर्नुभयो ।
यस क्षेत्रबाट २०७९ सालमा एमालेका ढकाल, २०७४ सालमा माओवादी केन्द्रका महेश्वर गहतराज र २०७० सालमा एमालेका देवराज भार निर्वाचित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेले समानुपातिकतर्फ सर्वाधिक १६ हजार ८७६, कांग्रेसले १४ हजार २१८, नागरिक उन्मुक्ति पार्टीले नौ हजार ९९७, माओवादी केन्द्रले आठ हजार ९९३ र रास्वपाले आठ हजार ९९२ मत प्राप्त गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिका अन्तर्गतका सबै ३० वडा समावेश छन् । यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४८ वटा मतदान स्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ । यो क्षेत्रमा दलगत र स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।