• १८ फागुन २०८२, सोमबार

धनकुटाका उम्मेदवारको साझा एजेण्डा : गाँजा वैधानिकता र बाँदर नियन्त्रण

blog

नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई आफ्नो घोषणा–पत्र सार्वजनिक गर्दै। तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन १७ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा धनकुटाका उम्मेदवारहरूले आ–आफ्नो घोषणा–पत्र सार्वजनिक गरी अन्तिम प्रचारप्रसारमा जुटेका छन्। अधिकांश उम्मेदवारले गाँजा वैधानिकता र बाँदर नियन्त्रणलाई प्रमुख एजेण्डाको रूपमा प्राथमिकतामा राखेका छन्।

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एकालेका राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका दिनेश राई आठपहरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले सार्वजनिक गरेका घोषणा–पत्रमा गाँजा खेतीको विषय प्रमुख रूपमा समेट्नुभएको छ।

कांग्रेसका उम्मेदवार दिनेश राई आठपहरियाले गाँजालाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि वैधानिक बनाउँदै त्यसबाट औषधिजन्य वस्तु, कपडा, तेल लगायतका उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। “म जिते यो पटक गाँजाको विषय टुङ्गोमा पुर्‍याउने र भोट माग्ने बहानामा प्रयोग नहुने गरी काम गर्नेछु। त्यस्तै, ओसार–प्रसारको नाममा जेल परेका निर्दोष व्यक्तिको रिहाइका लागि पहल गर्नेछु,” उहाँले बताउनुभयो।

एमालेका उम्मेदवार राजेन्द्र राईले पनि गाँजा खेतीलाई वैधानिक बनाउन पहल गर्ने र ओसार–प्रसारको नाममा जेल परेका निर्दोषको रिहाइका लागि प्रयास गर्ने प्रतिबद्धता जानकारी दिनुभयो। उहाँका अनुसार ग्रामीण क्षेत्रमा गाँजा खेती व्यापक भए पनि कानुनी झमेलाका कारण किसान समस्यामा परेका छन्। “संसद र संसदीय समितिमा यो विषय उठाउँदै आएको छु, जिते कानुन संशोधनलाई प्राथमिकतामा राख्नेछु,” उहाँले बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले पनि अवैध गाँजा खेतीका कारण किसानहरू पक्राउ पर्ने र मुद्दा लाग्ने समस्या रहेको, त्यसको विकल्पमा कानुनी झन्झट नहुने, दिगो तथा बढी आम्दानी दिने कृषिजन्य बालीतर्फ किसानलाई उत्प्रेरित गर्ने, तालिम र बजारीकरणको व्यवस्था गर्ने योजना अघि सार्नुभएको छ।

धनकुटाको ग्रामीण क्षेत्रमा अवैध रूपमा गाँजा खेती हुने गरेको छ। विशेषगरी सहिदभूमि गाउँपालिकामा यसको खेती बढी देखिन्छ भने पछिल्लो समय अन्य क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। प्रहरीले खेतमै पुगेर फडानी गरे पनि पूर्ण नियन्त्रण हुन सकेको छैन। सवारी जाँचको क्रममा गाँजा बरामद गरी कानुनी कारबाहीसमेत भइरहेको छ। पछिल्लो तथ्याङ्कअनुसार दुई सयभन्दा बढी युवा गाँजा ओसार–प्रसारको आरोपमा जेलमा छन्।

बाँदर नियन्त्रण पनि प्राथमिकता
गाँजा मुद्दापछि बाँदर तथा जंगली जनावर नियन्त्रण पनि उम्मेदवारको प्रमुख प्राथमिकता बनेको छ। बाँदर र अन्य जंगली जनावरका कारण ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन बाँझिँदै गएको, किसान उत्पादन गर्न छाडेको र कतिपय बस्ती अन्यत्र बसाइँसराइ गर्न बाध्य भएको दाबी गर्दै उम्मेदवारहरूले समाधानका उपाय अघि सारेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई आठपहरियाले आफ्नो घोषणा–पत्रमा बाँदर तथा जंगली जनावर नियन्त्रणका लागि राष्ट्रिय नीतिसँग प्रतिकूल नहुने गरी आवश्यक कानुन निर्माण र प्रभावकारी व्यवस्थापन गरिने उल्लेख गर्नुभएको छ। एमाले, रास्वपा र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले समेत ग्रामीण जीवन र कृषि प्रणाली जोगाउन दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।