• ३० चैत २०८२, सोमबार

विप्रेषणबाट थपिएका चुनौती

blog

विदेशी मुलुकमा काम गरेर आर्जन गरेको पैसा स्वदेशमा पठाइन्छ भने त्यस्तो रकमलाई विप्रेषण भनिन्छ । विज्ञान र प्रविधि विकासले गर्दा अहिले विश्वै साँघुरिँदै गएको छ । एउटा देशको कुनै कुनामा रहेको व्यक्ति छोटो समयमै अन्य मुलुकमा कुनै न कुनै सन्दर्भमा पुग्न सक्छन् । यसरी नेपालबाट वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या ठुलो छ । यस्तो जनसङ्ख्या खास गरेर खाडी मुलुकमा गएको छ । खाडी देशमा मात्र जाने सङ्ख्या १८ लाखभन्दा बढी छ । कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत विप्रेषणले ओगटेको अवस्था छ ।

अहिले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत भनेकै विप्रेषण हो । यो रकम लगभग नेपालको राष्ट्रिय बजेट बराबरी छ । गत आर्थिक वर्षमा विप्रेषणबाट प्राप्त भएको रकम १८ खर्बभन्दा बढी थियो भने बजेट पनि यसैको वरिपरि नै थियो । अन्य मुलुकमा जाने सङ्ख्यालाई समावेश गर्ने हो भने विप्रेषणको आम्दानी अझै बढी हुने छ ।

सहरको तुलनामा गाउँबाट खाडी मुलुकमा जाने सङ्ख्या धेरै छ । देशमा रोजगारीको अवसर नभएको र माओवादी युद्धका कारण देशमा शान्ति सुरक्षा अभावले गर्दा पलायन भएको थियो । अहिले यही जनशक्तिले पठाएको पैसाले उनीहरूको घरपरिवार धानिएको छ । देशको अर्थतन्त्रमा समेत टेवा पुग्न गएको छ । यस दृष्टिकोणबाट हेर्दा नेपालको अर्थतन्त्रमा विप्रेषणले ठुलो योगदान गरे पनि यसलाई व्यवस्थित गर्न भने सकिएको छैन ।

नेपालको अर्थतन्त्र मूलतः आयातमा निर्भर छ । निर्यात ज्यादै न्यून छ । सात रुपियाँको सामान आयात गर्दा केवल एक रुपियाँको सामान मात्र निर्यात गरेका हुन्छौँ । त्यसकारण हाम्रो अर्थतन्त्र परनिर्भर हुँदै गएको छ । आयात बढ्दै जाने र निर्यात घट्दै जाँदा भुक्तानी सन्तुलन हुन सक्दैन । जसले गर्दा अर्थतन्त्रमा समस्या आउने बढी सम्भावना हुन्छ । अहिले नेपालसँग ३२ खर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिती रहेको छ । यसले करिब १८ महिनाको भुक्तानी गर्न पुग्ने देखिन्छ । वैदेशिक ऋण, अनुदान जस्ता विदेशी मुद्रा आम्दानीका स्रोत भए पनि विप्रेषणको आम्दानी महत्वपूर्ण हुन गएको छ । यो रकम सिधै भुइँमान्छेको हातमा पुगेको छ र उनीहरूले आफूखुसी उपभोग गर्न सक्छन् ।

विप्रेषणको रकम कसरी र कहाँ प्रयोग भइरहेको छ भन्ने बुझ्न जरुरी छ । निश्चय नै नेपाल जस्तो अतिकम विकसित मुलुकमा नियमित रूपमा यति ठुलो विदेशी मुद्रा आर्जन गर्नुलाई सकारात्मक रूपमा लिनु पर्छ । हामीले यसलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न सकिएको छैन । ६८ प्रतिशत रकम उपभोग र विलासिताका वस्तु खरिद गर्नमै गएको तथ्याङ्कले देखाएको छ । जीवन निर्वाहमै खर्च भएकाले यसबाट अतिरिक्त आयआर्जन गरिएको छैन । जसरी भित्रिएको छ, त्यसरी नै आयातीत वस्तु भुक्तानीमा रकम प्रवाह भएको छ । यसले गर्दा यति ठुलो विप्रेषणबाट जति लाभ लिन सकिन्थ्यो त्यति लिन नसकेको अहिलेको अवस्था हो । विप्रेषण मूलतः शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पनि खर्च भएको छ । जनशक्ति उत्पादन र विकासमा केही सहयोग पु¥याएको भए पनि अहिले देशको आर्थिक अवस्था हेर्दा उत्पादनशील क्षेत्रमा बढी लगानी प्रवाह गर्न आवश्यक देखिन्छ ।

ग्रामीण अर्थतन्त्र चलायमान बनाउने कार्य विप्रेषणबाटै भएको छ । प्रायजसो प्रत्येक घरका कुनै न कुनै वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको पैसाले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकता पूर्ति गर्न सहज भएकाले ग्रामीण क्षेत्रको गरिबी घटाउन ठुलो सहयोग पुग्न गएको छ । ग्रामीण क्षेत्रका भुइँमान्छेको जीवनस्तरमा सुधार ल्याउन यो रकम नभएको भए ग्रामीण अर्थतन्त्रको अवस्था निश्चय नै जोखिमयुक्त हुने कुरा सहजै अनुमान गर्न सकिन्छ । नेपालको कुल जनसङ्ख्याको २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको छ । गरिबीलाई यो दरमा ल्याउन पनि विप्रेषणले ठुलो योगदान गरेको छ । 

नेपालको सन्दर्भमा भन्ने हो भने तुलनात्मक रूपमा विप्रेषणबाट लाभै भएको छ । यद्यपि यसलाई पुँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी प्रवाह नभएको हुनाले अनुत्पादक क्षेत्रमा बढी खर्च भएको छ । घर, जग्गा खरिद, विलासिताका वस्तु खरिद, धेरै तडकभडक र भोजभतेर जस्ता कार्यमा खर्च भएकाले प्रत्युत्पादक हुन गए पनि अहिलेको अवस्थामा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

देशको अर्थतन्त्र उत्पादनमूलक हुन सकेन भने जोखिम आउन सक्ने हुन्छ । अहिले हाम्रो अर्थतन्त्र उत्पादन क्षेत्रभन्दा अनुत्पादक क्षेत्रतर्फ बढ्दै गएको छ । गरिब देश भए पनि ब्रान्डेड, महँगा र आधुनिक विलासिताका सामान प्रयोग गर्ने होडबाजी बढ्दै गएको छ । यसले गर्दा आयातीत महँगा सामानले स्वदेशी उत्पादन विस्थापित हुँदै गएको छ । स्वदेशी उत्पादन कुल क्षमताको ५० प्रतिशतभन्दा कम क्षमतामा उत्पादन गर्नुपर्ने बाध्यताले गर्दा अहिले राष्ट्रिय अर्थतन्त्र शिथिल हुँदै गएको छ । अर्थतन्त्रमा सुधार ल्याउन विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्ने र निजी क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्नु पर्छ । नेपालको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ । विप्रेषणको आम्दानी र आन्तरिक उत्पादनमा वृद्धि गरेर अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।

अर्थतन्त्रलाई बलियो बनाउन विप्रेषणभन्दा पनि स्वदेशी उत्पादनमा बढी जोड दिनु पर्छ । देशमा उद्योगधन्दा बढाउँदा आयातलाई न्यूनीकरण गर्न सकिन्छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती बढ्न सक्छ । स्वदेशी उत्पादनले मूल्यवृद्धिमा नियन्त्रण हुन्छ । कम लागतको उत्पादनले मूल्य कम हुन सक्छ र आपूर्ति व्यवस्था पनि सहज बनाउँछ । वस्तुको माग र आपूर्तिमा सन्तुलन भयो भने आपूर्ति र मूल्य दुवैले अर्थतन्त्रलाई प्रभावकारी बनाउँछन् ।

अहिले आन्तरिक अर्थतन्त्रका सूचकाङ्क नकारात्मक छन् । राजस्वले लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन । पुँजीगत खर्च निराशाजनक छ भने चालुगत खर्च तीव्र गतिमा बढ्दै गएको छ । राज्यले लिएको सार्वजनिक ऋण केही वर्षयता ह्वात्तै बढेको छ । लिएको ऋणको साँवाब्याजको भुक्तानीका लागि ठुलो रकम विनियोजन गर्नु सरकारको बाध्यता छ । समयसीमाभित्र राज्यले साँवाब्याज भुक्तानी गर्नै पर्छ । देशको आर्थिक स्थिति यस्तो छ कि पुँजीगत बजेटभन्दा पनि वित्त व्यवस्थापनमा बढी बजेट विनियोजन गर्नु परेको छ । राज्यले लिएको ऋण उच्च गतिमा वृद्धि हुँदै गएको छ । ऋण बढ्दै जानुमा विनिमय दरको वृद्धि पनि एक कारण हो ।

विप्रेषण एल्गोरिदम जस्तो भएको छ । पहाडमा जहाँ गए पनि साउदी, कतार, कुवेत आदि मुलुकको नाम लिइएको हुन्छ । मानिसलाई खाडी मुलुकको एककिसिमको लतै लागेको छ । शिक्षित, साक्षर, दक्ष, अदक्ष जोसुकै पनि खाडीतिर हामफालेकै हुन्छन् । त्यसैले प्रत्येक वर्ष विप्रेषणको आम्दानी बढ्दै गएको छ तर हामीले के बुझ्नु पर्छ भने विप्रेषण सधैँ नआउन पनि सक्छ । अहिलेकै अवस्थालाई हेर्दा इजरायल–इरान युद्धको असर नेपालको अर्थतन्त्रमा पर्न लागेको छ । खाडी मुलुकमा काम गरिरहेका नेपाली श्रमिक फर्किने अवस्था सिर्जना भएको छ र कतिपय श्रमिक फर्किरहेका पनि छन् ।

युद्धले यी मुलुकलाई प्रभाव पारिरहेकाले अब उनीहरूले आर्थिक तथा रोजगारी नीतिमा निकट भविष्यमा परिवर्तन गर्ने सम्भावना बढी नै देखिन्छ । त्यस अवस्थामा नेपाली श्रमिकको रोजगारी गुम्ने सम्भावना पनि बलियो देखिन्छ । पाइरहेको रोजगारीबाट वञ्चित भएर स्वदेश फर्किनुपर्ने र स्वदेशमा कुनै रोजगारी प्राप्त नहुँदा व्यक्तिले घरपरिवार धान्न पनि नसक्ने अवस्था नआउला भन्न सकिँदैन । छिट्टै युद्ध समाप्त हुने अवस्था देखिँदैन र भए पनि यसको मानसिक असर परेकै हुन्छ । लामो अवधिसम्म जाँदा नेपाल जस्ता मुलुक आर्थिक समस्यामा पर्ने नै हुन्छन् । यस्ता अवश्यम्भावी घटनामाथि अब बन्ने नयाँ सरकारले विचार गर्नु जरुरी छ । अहिले नै रोजगार मुलुकसँग नेपाली श्रमिकको सुरक्षा र रोजगारीबारे राजनीतिक तथा कूटनीतिक माध्यमबाट सम्बन्ध सुधार्न आवश्यक पहल गर्नु पर्छ ।

अर्थतन्त्र बलियो बनाउने भनेको स्वदेशी उत्पादनले हो । अहिले आन्तरिक उत्पादन न्यून भएको र स्वदेशमा रोजगारीका अवसर नभएकाले उत्पादनमूलक श्रमशक्ति विदेश पलायन भएको अवस्था छ । यो जनशक्ति स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिएमा अर्थतन्त्रले सजिलै गति लिन सक्छ । विदेशमा रहेको जनशक्ति स्वदेश फर्किंदा केवल उनीहरू मात्रै फर्किएका हुँदैनन् उनीहरूले आधुनिक सिप, कला, प्रशिक्षणसमेत लिएर फर्किएका हुन्छन् । राज्यले आफूले लगानी नगरेर पाएको दक्ष एवं कुशल जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा लगाएर देशको अर्थतन्त्र सुदृढ बनाउने अवसरलाई गुमाउनु हुँदैन । हामीले यो कुरा पनि बिर्सिनुहुन्न कि व्यक्ति निर्यात गरेर कुनै पनि मुलुक धनी हुन सक्दैन । त्यसैले वस्तु निर्यात गरेर देश धनी बनाउनेतर्फ लाग्नु पर्छ ।