• ३० चैत २०८२, सोमबार

तीन पटक म्याद थपिँदा पनि ‘नमूना पशु अस्पताल’ अधुरो

blog

अलपत्र परेको निर्माणाधीन ‘नमूना पशु अस्पताल’ भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत ३० गते ।
गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको ‘नमूना पशु अस्पताल’ भवन तनहुँमा निर्माण सुरु भएको वर्षौँ बित्दा पनि अलपत्र छ । सदरमुकाम दमौलीस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ को परिसरमा निर्माणाधीन भवन तीन पटक म्याद थपिँदा पनि पूरा हुन नसक्दा  किसानले पाउनुपर्ने सेवा रोकिएको छ ।

पटक–पटक  म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र परेको छ । २०७८ कात्तिक २० गते १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । तर हालसम्म काम करिब ७० प्रतिशतमा सीमित रहेको विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया नै अघि बढ्न सकेको छैन ।

तनहुँ र कास्की जिल्ला मा एकैसाथ निर्माण सुरु गरिएको थियो। कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भइसकेको छ । गण्डकी प्रदेश सरकारले भ्याट बाहेक चार करोड ९० लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । आवश्यक पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब १० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

साढे दुईतले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहने योजना छ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले इकोविल्डर्स प्रालि सँग ठेक्का सम्झौता गरिएको हो ।

पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी पुससम्म समय बाँकी रहे पनि चैत मसान्तसम्म आइपुग्दा निर्माणमा उल्लेख्य प्रगति नदेखिएको विज्ञ केन्द्रले जनाएको छ ।