• १८ फागुन २०८२, सोमबार

सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थ पाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १८ गते । सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री खुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक बिदामा नेपाल आयल निगमका डिपो/शाखा कार्यालय खुला हुने भएका छन् । 

बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज राख्न डिपो तथा कार्यालय खुला हुने भएका हुन् । सरकारले आसन्न चुनावलाई लक्षित गरेर आगामी बुधबार, बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ । 

सार्वजनिक बिदा अवधिभर डिपो खुला हुने निगमले जानकारी दिएको छ । निगमले विज्ञप्तिमार्फत कार्यलय खुल्ने दिन र सम्पर्क व्यक्तिसमेत तोकेको छ । 

निगमका अनुसार विराटनगरको कोशी प्रादेशिक कार्यालय २२ र २४ गते खुला हुने छ । यस्तै मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज १८, २० र २३ गते खुला हुने छ । 

यस्तै इन्धन डिपो महेन्द्रनगर र धनुषा २२ र २४ गते, गण्डकी प्रादेशिक कार्यलय पोखरा २०, २३ र २४ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा १८–२३ गते खुला हुने निगमले जनाएको छ । इन्धन डिपो नेपालगन्ज २०–२२ गते खुला हुने छ । कर्णाली प्रादेशिक कार्यालय सुर्खेत १८–२० गते खुला हुने छ । 

सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढी १८–२० र २२ गते खुला हुने छ । शाखा कार्यालय चारआली २२–२४ गते र शाखा कार्यालय वीरगन्ज २०, २२, २३ र २४ गते खुला हुने निगमले जनाएको छ । 

यस्तै काठमाडौँको थानकोट डिपोमा सोमबार बिदाको दिनसमेत पेट्रोलियम पदार्थको बिक्री खुला हुने निगमले जनाएको छ । 

यसैबिच चुनाव नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा आइतबार तेल हाल्नका लागि उपभोक्ताले लामो लाइन बस्नु परेको थियो । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चुनावले बजारमा इन्धनको खपत बढेको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा भण्डारण भएकाले अभाव नहुने उहाँले जानकारी दिनुभयो । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले चुनावमा घर जान सबैले तेल भर्न थालेकाले पनि पम्पमा उपभोक्ताको भिडभाड लागेको जानकारी दिनुभयो ।  बजारमा इन्धनको माग बढेको, उपभोक्तामा विश्वास नभएको र सोमबार सार्वजनिक बिदा परेकाले पनि आइतबार पम्पमा तेल भर्नेको भिड लागेको उहाँको भनाइ छ ।