इनरुवा, फागुन १७ गते । अपन स्वर्ग नेपालद्वारा सुनसरीको इनरुवामा आयोजित अन्तर्राष्ट्रिय ‘अवार्ड’कार्यक्रममा विभिन्न विधामा ८३ जनालाई ‘इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको छ । विभिन्न विधामा गरेको योगदानका आधारमा प्रदान गर्दै आएको ‘इन्टरनेसनल अवार्ड’ को दोस्रो संस्करणमा शनिबार ‘अवार्ड’ प्रदान गरिएको हो ।
कार्यक्रममा विभिन्न विधाका ८३ जनालाई ‘अवार्ड’, १५ जनालाई मायाको चिनो र ४५ जनालाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा साहित्यकार ममता मृदुललाई ‘अवार्ड’ प्रदान गरिएको छ । युवराज दाहाल, टङ्क भेटवाल र पत्रकार जयकृष्ण यादवलाईसमेत ‘अवार्ड’ प्रदान गरिएको थियो भने देश विदेशका सङ्गीतकार, गीतकार, गायक, ‘क्यामेरा मेन’, नायक, नायिका, निर्देशक, कलाकार, फिल्म निर्माता, किसान, सामाजसेवी, डाक्टर, वकिल, साहित्यकार, मुर्तिकार, ‘रेकर्डिङ स्टुडियो’, सङ्गीतकारलगायतका विधामा स्रष्टाहरूलाई ‘अवार्ड’ वितरण गरिएको हो ।

पत्रकार देवराज यादव, साहित्यकार रमेन्द्र कोइराला, लीलानाथ सिलवाल, युवराज पराजुली, देवीप्रसाद चौधरी, रोहित थारू, प्रशुराम चौधरी, प्रसिना अधिकारीलगायतलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष झोटन मेहताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका कृषि, उद्योग तथा सहकारीमन्त्री हाजी इसराईल मंसुरी रहनुभएको थियो । साहित्यको तर्फबाट भवानीप्रसाद पोखरेल केसु विरही, नवराज नवसिलाको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष द्वय रमेन्द्र कोइराला र भागवत मण्डल, सचिव विशाल पण्डित, कार्यालय सचिव पवित्रा मेहता, सहसचिव जुनु बुढाथोकी, सदस्य कुष्ण पराजुली, वरिष्ठ सल्लाहकार एसएन मेहता र टङ्क भेटवाललगायतको उपस्थिती रहेको थियो ।
