• १७ फागुन २०८२, आइतबार

देश सञ्चालनका लागि कांग्रेसलाई मौका दिनुस् : सभापति थापा

blog

चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस सभापति गगन थापा ।

नवराज सुवेदी 

विदुर, फागुन १७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश सञ्चालनको जिम्मेवारी कांग्रेसलाई दिन आग्रह गर्दै पारदर्शिता र तीव्र विकासको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नुवाकोटको विदुर नगरपालिकामा आइतबार नुवाकोट क्षेत्र नं. २ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले “बिनादुर्घटना तीव्र गतिमा” देशलाई अगाडि बढाउने दाबी गर्नुभयो ।

सभापति थापाले सरकार सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिइने उल्लेख गर्दै प्रत्येक महिनाको १ गते सरकारको कार्यसम्पादन सार्वजनिक गर्ने योजना अघि सार्नुभयो । “वैशाखदेखि सरकारको मासिक काम सार्वजनिक हुने छ र त्यसको नियमित समीक्षा पनि हुने छ,” उहाँले भन्नुभयो । यसले जनतालाई प्रत्यक्ष जानकारी दिने र कामको गति बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सभामा बोल्दै थापाले नुवाकोट क्षेत्र नं. २ लाई कृषि उत्पादनका हिसाबले महत्त्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै यसको विकासलाई विशेष प्राथमिकतामा राखिने बताउनुभयो । देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन उक्त क्षेत्रले ठुलो योगदान दिइरहेको भन्दै कृषि, सिँचाइ र पूर्वाधार विकासका लागि प्रभावकारी कार्यक्रम ल्याइने उहाँको भनाइ थियो ।

माछापालनको उच्च सम्भावना औँल्याउँदै उहाँले माछापालक किसानका लागि राहत र प्रोत्साहन कार्यक्रम ल्याइने जानकारी दिनुभयो । समयमै रासायनिक मल, उन्नत बिउ तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउने ठोस योजना अघि सारिनेसमेत उहाँले उल्लेख गर्नुभयो ।

विदेशिने बाध्यता अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउँदै थापाले विकास निर्माणमा अवरोध पुर्‍याउने ऐन–कानुन संशोधन गरिने प्रतिबद्धता जनाउनुभयो । ठेक्का प्रक्रियामा हुने ढिलासुस्ती हटाएर गुणस्तरीय र छिटो काम गर्ने निर्माण व्यवसायीलाई प्राथमिकता दिने व्यवस्था मिलाइने उहाँको दाबी थियो ।