• १७ फागुन २०८२, आइतबार

जातीय भेदभाव र हिंसा रोकिएन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १७ गते । दलित समुदायमाथि इन्टरनेट र सामाजिक सञ्जाल माध्यमबाट पनि जातीय भेदभाव र हिंसा भइरहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल प्रयोगबाट अपमान, विभेद र हिंसा हुन थालेपछि दलितमाथि हुने जातीय विभेद र हिंसाको स्वरूप पनि ‘डिजिटलाइज्ड’ भएको अध्ययनको निष्कर्ष छ । 

डिजिटल राइट्स नेपालले डिजिटल प्लेटफर्ममा जातीय विभेदको प्रकृति र प्रवृत्तिबारे अध्ययन गरेको थियो । अध्ययनले दलितलाई डिजिटल प्लेटफर्ममा जातीय आधारमा अपमानजनक शब्द, घृणास्पद अभिव्यक्ति र गालीगलौजमार्फत जातीय विभेद हुने गरेको देखाएको छ । यस्तो विभेद र हिंसाको जोखिममा दलित बालबालिका देखिएका छन् । प्रविधिजन्य बालहिंसाका घटनामध्ये ३० प्रतिशत दलित बालबालिका परेका छन् । 

अध्ययनका अनुसार विशेष गरी दलित अधिकारकर्मी, अभियन्ता, पत्रकार, महिला र राजनीतिमा आबद्ध व्यक्ति बढी मात्रामा जातीय विभेदको सिकार भइरहेका छन् । पत्रकार तथा अभियन्ता रूपा सुनारदेखि पूर्वसांसद एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारसम्मले डिजिटल माध्यममा जातीय विभेद र हिंसा सहनु परेको प्रतिवेदनमा उल्लेख छ । 

दलित महिलामाथि जातीय विभेदसँगै लैङ्गिक हिंसा र यौनजन्य धम्कीको दोहोरो बोझ रहेको रिपोर्टमा उल्लेख छ । यस्ता कार्यमा सामाजिक सञ्जालमा रहेका नक्कली खाता प्रयोग अधिक रहेको पाइएको छ । 

अध्ययनमा संलग्न अध्येता रूपा सुनारले विद्यमान नेपाली कानुन जस्तै विद्युतीय कारोबार ऐन र जातीय भेदभाव तथा छुवाछूत ऐनले डिजिटल माध्यममा हुने यस्ता विशिष्ट प्रकृतिका जातीय दुव्र्यवहारलाई तत्काल सम्बोधन गर्ने निकायको आवश्यकता रहेको बताउनुभयो ।