• १७ फागुन २०८२, आइतबार

दलहरूको घोषणापत्रमा लुम्बिनी : रोजगारी सिर्जनामा समान दृष्टिकोण

blog

लक्ष्मण पौडेल 

भैरहवा, फागुन १७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा लुम्बिनीको विकासबारे साझा धारणा देखिएको छ । विशेष गरी विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको दिगो विकास, व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रवर्धन यस पटकका दलका प्रतिबद्धतापत्रको साझा विषय भएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना बनेको ४७ वर्ष हुँदा पनि गुरुयोजना अनुसार काम हुन सकेको छैन । विसं २०३५ मा जापानी वास्तुविद् प्रा. केन्जो टाङ्गेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाउनुभएको थियो । अहिलेको अवस्थामा गुरुयोजना पूरा गर्न अझै तीन अर्ब रुपियाँभन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ । मुख्य दलहरूले सार्वजनिक गरेका घोषणापत्र र उम्मेदवारहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा लुम्बिनीलाई धार्मिक–सांस्कृतिक पर्यटनको विश्वस्तरीय गन्तव्य बनाउने, पूर्वाधार सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिलाउने लक्ष्य स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

विश्व केन्द्र बनाइने छ : कांग्रेस

नेपाली कांग्रेसले लुम्बिनीलाई बौद्ध अध्ययन, शान्ति अनुसन्धान र अन्तरधार्मिक संवादको विश्व केन्द्र बनाउने अवधारणा प्रस्तुत गरेको छ । पार्टीका नेता एवं रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार भरत शाहले लुम्बिनीको विकास केवल संरचना निर्माणमा सीमित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ज्ञान, अनुसन्धान र सांस्कृतिक आदान–प्रदानको वातावरण तयार गर्नु पर्छ । कांग्रेसले निजी क्षेत्रसँग सहकार्य गर्दै होटल, यातायात र सेवा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकता दिएको छ ।” कांग्रेसले आफ्नो घोषणापत्रमा सांस्कृतिक र आध्यात्मिक अनुसन्धानका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गरिने विषय पनि समेटेको नेता शाहले बताउनुभयो । उहाँका अनुसार घोषणापत्रमा गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ । त्यस्तै ‘जनकपुर–लुम्बिनी–काठमाडौँ’ आध्यात्मिक र ‘बुद्ध–टु–शिव’ आध्यात्मिक जस्ता डिजिटल कोरिडोरलगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउने पनि कांग्रेसको प्रतिज्ञा छ ।

गुरुयोजनालाई तीव्रता : एमाले 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो घोषणापत्रमा लुम्बिनी गुरुयोजना कार्यान्वयनलाई तीव्रता दिने, तीर्थयात्री तथा पर्यटकका लागि गुणस्तरीय आवास, हरित पार्किङ, डिजिटल टिकेटिङ प्रणाली र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विस्तार गर्ने योजना अघि सारेको छ । पार्टीका उपध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले भन्नुभयो, “लुम्बिनी केवल धार्मिक स्थल मात्र होइन, यो नेपालको आर्थिक सम्भावनाको ढोका हो । व्यवस्थित पूर्वाधार र प्रभावकारी व्यवस्थापनले वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।” 

एकीकृत व्यवस्थापन मोडेल : नेकपा 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी विकासलाई राष्ट्रिय गौरवको परियोजनासँग जोड्दै एकीकृत व्यवस्थापन मोडेलको प्रस्ताव अघि सारेको छ । नेकपाका केन्द्रीय नेता तथा पूर्वमन्त्री इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ ले भन्नुभयो, “लुम्बिनीको विकास छरपस्ट ढङ्गले होइन, एकीकृत योजना र कडा अनुगमन प्रणालीमार्फत अघि बढाउनु पर्छ । स्थानीय सरकार, प्रदेश र सङ्घबिच स्पष्ट कार्यविभाजन हुनु पर्छ ।” नेकपाले सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटक पूर्वाधार विस्तार, हरित ऊर्जा प्रयोग र स्थानीय युवालाई पर्यटन सेवामा सिपमूलक तालिम दिने कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध तीर्थ : रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पारदर्शी व्यवस्थापन र डिजिटल प्रवर्धनलाई जोड दिएको छ । पार्टीका केन्द्रीय सदस्य सन्तोष गिरीका अनुसार लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रूपमा विकास गर्ने, बौद्ध धर्मावलम्बी देशहरूसँग सहकार्य, धार्मिक कूटनीति बढाउने, सडक, यातायात, होटल तथा आवास सुविधाको विस्तार गर्ने जस्ता विषय पार्टीको वाचापत्रमा समेटिएका छन् । त्यस्तै प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्धन, पर्यटनमार्फत स्थानीय युवालाई रोजगारी अवसर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन विभिन्न छुट दिने, हवाई रुटका लागि भारतसँग कूटनीतिक पहल गर्नेलगायत विषयलाई पार्टीले वाचापत्रमा समेटेको गिरीको भनाइ छ । लुम्बिनीको दीर्घकालीन विकासका लागि लुम्बिनी विकास कोषको भूमिका निर्णायक मानिन्छ । कोषका उपाध्यक्ष ल्हारक्याल लामाका अनुसार गुरुयोजना अनुसार संरचना निर्माण भइरहेको छ, तर अझै धेरै काम बाँकी छ । “

अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग सहकार्य, हरित पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षण हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “कोषले पर्यटक व्यवस्थापन प्रणाली आधुनिकीकरण र सरसफाइ अभियानलाई सुदृढ गरेको छ ।” लुम्बिनी विकासको अर्को आधार भनेको पहुँच र यातायात हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको विषयलाई राजनीतिक दलहरूले साझा प्रतिबद्धता गरेका छन् । कांग्रेस, एमाले, नेकपालगायत दलले नियमित अन्तर्राष्ट्रिय उडान विस्तार, भिसा सहजीकरण र पर्यटन प्याकेज प्रवर्धनलाई प्राथमिकतामा राखेका छन् ।

स्थानीय उद्योगी–व्यवसायीहरूका अनुसार लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सांस्कृतिक कार्यक्रम, ध्यान–योग केन्द्र र बौद्ध सर्किट विस्तार अपरिहार्य छ । तिलौराकोट, देवदह र रामग्राम जोड्ने बृहत् बौद्ध सर्किट विकासको विषय पनि दलहरूको साझा एजेन्डामा परेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले दलहरूले घोषणापत्रमा समेटेको लुम्बिनी विकासको मुद्दा व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । “चुनावी मुद्दा बन्ने तर त्यो कागजमै सीमित हुने गरेका थुप्रै उदाहरण छन् । यस पटक प्रायः सबै दलका घोषणापत्रमा लुम्बिनीको विषयले प्राथमिकता पाएको छ,” उहाँले भन्नुभयो, “साझा ढङ्गले उठेको विषयको कार्यान्वयन पनि साझा ढङ्गले नै गर्नु जरुरी छ ।”

पर्यटन व्यवसायी सञ्जय बजिमयले फागुन २१ पछि चुनिने नयाँ जनप्रतिनिधिले घोषणापत्रका प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न सके, लुम्बिनी केवल तीर्थस्थल मात्र होइन नेपालको समृद्धि यात्राको प्रतीक बन्ने बताउनुभयो । 

लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म बुद्ध जन्मस्थल लुम्बिनीलगायत गुरुयोजना, संरचना तथा सम्बन्धित पूर्वाधारको विकासमा करिब सात अर्ब रकम खर्च भइसकेको छ ।