• १६ फागुन २०८२, शनिबार

बाँदर नियन्त्रण गर्नेलाई जैमिनीबासीको मत

blog

बाँदर आतंकले प्रभावित जैमिनी –८ अर्जेवाको भँडारा गाउँ । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १६ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकामा मुख्य समस्या बाँदर आतंक हो । तीन वर्षअघि जैमिनीले विज्ञ सम्मेलन गरेर बाँदर नियन्त्रणको प्रयास थाले पनि त्यो अहिलेसम्म पूरा भएको छैन । 

बाँदरको समस्याले बसाइ सराई तीब्र छ । नेपालमै बसाइ सराई गर्ने पालिकामध्येमा जैमिनी पनि पर्छ । बाँदर नियन्त्रणका लागि दर्जनबढी कानून बाधक रहेको स्थानीयको भनाइ छ । वन्यजन्तुसम्बन्धी कानूनबाट बाँदरलाई कृषि हानिकारक वन्यजन्तु बनाउनुपर्ने स्थानीयको माग छ । 

त्यसबाहेक सामान्य झाडी फँडानीमा समेत असर परेकोले वन ऐन लगायतका कानून चाहिएको पनि स्थानीय बताउँछन् । ‘‘हामी त बाँदर आतंकबाटै आजित छौं, घरमा बस्नेलाई समेत सास्ती छ’’ जैमिनी नगरपालिका –८ का ओमकार शर्माले भन्नुभयो, ‘‘बाँदरकै कारण बारीमा कृषि फसल नासिएको, घरमा राखेका सामग्री हिनामिना हुने गरेका छन् ।’’

बाँदर नियन्त्रणमा काम गर्नेलाई यस पटकको चुनावमा मत दिने स्थानीयको तयारी छ । बाँदर नियन्त्रणका लागि भरपर्दो योजना अझै कसैले दिन नसकेको उनीहरुको गुनासो छ । कानून संशोधन गरेर भए पनि केही समाधान खोज्ने चर्चा भने निर्वाचनका उमेदवारले बताउने गरेका छन् । 

कांग्रेस उमेदवार भीम श्रीषले वन र वन्यजन्तुसम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । ऐन संशोधनका लागि संसदमा कस्तो आकार बन्छ त्यसले पनि निर्धारण गर्ने स्थानीय बताउँछन् । 

बाँदर आतंककै कारण जैमिनी नगरपालिका –१ को टुनिबोट लगायतका बस्तीमा खेतीपाती लगाउनै छाडिएको छ । वडा नं. ८ का अधिकांश बस्तीमा यो असर देखिएको छ । अन्य वडाबासीले पनि बाँदर आतंक रोक्ने उपाय ल्याएमा मत दिने बताउँछन् । 

जैमिनी नगरपालिका –३ को माथिल्लो बस्ती जाने तीन सडक छन् । नगरको केन्द्र रहेको कुश्मीसेरादेखि दमेक पुग्ने सडक छ । त्यसबाहेक चापाखर्क र गाजाको दहदेखि आउने सडक समेत छ । तर यी तीनवटै सडकहरु जीर्ण छन् । सडक स्तरीय नहुँदा स्थानीयले सास्ती खेपेर यात्रा  गर्नुपर्छ । 

जैमिनी नगरपालिकाका कतिपय स्थानमा पुग्ने सडक निकै अप्ठ्यारो छ । वर्षौदेखि कृषि सडक स्तरीय बन्न नसक्दा कुश्मीसेरादेखि सर्कुवा, बिनामारे, अर्जेवा, जैदीहुँदै छिस्ती पुग्ने सडकले यात्रालाई हैरानी बनाएको जैमिनी–६ की चित्रकुमारी शर्माले गुनासो गर्नुभयो ।