गोरखापत्र अनलाइन
बुटवल, फागुन १६ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष समेत हुनुहुन्छ । एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेसँग यात्रा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो।
भदौ २३ र २४ गतेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै एमाले र ओलीमाथिको प्रहार बिधि र बिधानमाथिको प्रहार भएको बताउनुभयो।
पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको बताउनुभयो। उहाँसँगै नेकपाका रूपन्देही सदस्य सरोज गौतम र बुटवल नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गर्नुभयो । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पहाडी र गौतमद्वयको एमाले प्रवेशले रुपन्देहीको एमाले थप बलियो भएको बताउनुभयो ।