काठमाडौँ, फागुन १६ गते । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने पहिलो औपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र स्विट्जरल्यान्डको ईटीएच जुरिचको संयुक्त पहलमा सञ्चालित ‘आईल्याब–२०२५’ अन्तर्गत यो प्रक्रिया अघि बढेको हो ।
बागमती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (पीसीटीभीईटी) र नेपाल उद्योग परिसङ्घ (सीएनआई) लगायत निजी क्षेत्रको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । शङ्खरापुर बहुप्राविधिक शिक्षालयमा आवश्यक पूर्वाधार पूरा गरी बजारको मागअनुसार युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रक्रिया सुरु गरिएको छ ।
आईल्याब बागमती प्रदेशका संयोजक रमेश दुलालका अनुसार स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा ईभी प्रशिक्षणलाई औपचारिक रूपमा सञ्चालन गर्ने यो नेपालकै पहिलो प्रयास हो । यसअघि छोटो अवधिको ३ सय ९० घण्टाको तालिम गोकर्णेश्वर नगरपालिकाका २५ युवालाई दिइएको थियो । तर, प्रयोगात्मक अभ्यास पर्याप्त नभएको गुनासो आएपछि कम्तीमा १८ महिनाको ‘प्रि–डिप्लोमा’ कार्यक्रम अघि बढाइएको हो ।
गोकर्णेश्वर नगरपालिकामा मात्र १ सयभन्दा बढी युवाले ईभी प्रशिक्षणका लागि रुचि देखाएको नगरपालिकाका शिक्षा अधिकृत एवं आईल्याब सदस्य सरिता शर्माले जानकारी दिनुभयो । सेक्टर स्किल्स कमिटीका सदस्य दीपेश पौडेलले नेपालमा ईभीको आयात बढिरहे पनि दक्ष प्राविधिकको अभाव रहेकाले यो कार्यक्रमले सो रिक्तता पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शङ्खरापुर बहुप्राविधिक शिक्षालयले ल्याब स्थापनाका लागि लागत अनुमान तयार पारिसकेको छ । पीसीटीभीईटीका प्रमुख कार्यकारी निर्देशक एवं आईल्याब सदस्य शान्ति लामाले लागत साझेदारीका लागि गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाका साथै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई पत्राचार गरिसकिएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ईभी ल्याबका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नाडाले पनि बजारको मागअनुसार यो पढाइ सान्दर्भिक भएको भन्दै व्यवसायीहरूबाट लागत साझेदारी सम्भव हुने उल्लेख गरेको छ ।
बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले ईभी क्षेत्रमा रोजगारी सिर्जना गर्न युवाहरूलाई दक्ष बनाउने विषय प्रदेशको प्राथमिकतामा रहेको बताउनुभयो । यो कार्यक्रमले नेपालमा ईभी क्षेत्रको विकासलाई गति दिनुका साथै युवा बेरोजगारी घटाउने अपेक्षा गरिएको छ ।