• १६ फागुन २०८२, शनिबार

चाडपर्वका तिथिमितिमा एकरूपता ल्याउन महानगर र पञ्चाङ्ग समितबिच छलफल

blog

काठमाडौँ, फागुन १६ गते । विक्रम संवत् २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वका विषयमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीबिच छलफल भएको छ । छलफलमा समितिका सदस्य सचिव लक्ष्मण पन्थी, सदस्य दैवज्ञ ज्योतिष रति जोशी श्रेष्ठसहितका पदाधिकारीको सहभागिता थियो ।

उपत्यकामा मनाइने विभिन्न चाडपर्व तिथिमितिका कारण अघिल्ला दिन कि पछिल्ला दिन मनाउने भन्ने विगतका द्विविधा यस वर्ष दोहोरिन नदिन गरिएका प्रयत्न र महानगरपालिका तथा समितिबिचको सहकार्य छलफलका मुख्य विषय थिए ।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यावहारिक अभ्यासको दृष्टान्त दिँदै पर्वले पारिवारिक र सामाजिक सद्भाव जोड्नुपर्नेमा जोड दिनुभयो । “नेवार समुदायमा काठमाडौँ, भक्तपुर र ललितपुरमध्ये एक ठाउँबाट विवाह भएर अर्को ठाउँ गएकी छोरीको घरमा पर्व सुरु हुँदा माइतीमा सकिने वा माइतीमा सुरु हुँदा घरमा सकिने अवस्थाले समस्या निम्त्याएको अनुभव छ,” उहाँले भन्नुभयो, “पर्वले परिवार र समुदायलाई विभाजन नगरोस्, पञ्चाङ्ग निर्णायक समितिले यसमा व्यावहारिक समाधान दिनुपर्छ ।”

पञ्चाङ्ग निर्णायक विकास समितिले विगतका समस्या समाधानका लागि यस वर्ष समुदाय र चाडपर्वको निर्णय दिने व्यक्तित्वहरूसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले चाडपर्व परम्परालाई एकरूपता दिन विगतमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटिएको जानकारी दिनुभयो ।

समितिका सदस्य दैवज्ञ जोशी श्रेष्ठले उपत्यकाका पर्व र तिथिमितिका विषयमा शङ्खधर साख्वा प्रतिष्ठानको सहयोगमा काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदायबिच अन्तर्क्रिया गरिएको जानकारी दिनुभयो ।

नेपालमा हाल चारवटा संवत् प्रचलनमा छन् । सौर्य मासमा आधारित इस्वी संवत् र विक्रम संवत् हुन् भने नेपाल संवत् र शालीवाहनीय शक संवत् चन्द्र मासमा आधारित संवत् हुन् । शालीवाहनीय शक संवत् चैत महिनाको शुक्ल पक्ष प्रतिपदा तिथिबाट सुरु हुन्छ, जसलाई ज्योतिष दिवसका रूपमा मनाउन थालिएको छ । त्यस्तै, नेपाल संवत् कार्तिक महिनाको शुक्ल पक्ष प्रतिपदा तिथिबाट सुरु हुने जानकारी पनि सो अवसरमा दिइयो ।