जनार्जन खत्री
सर्लाही, फागुन १६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि देश सञ्चालन गर्ने चालक कांग्रेस बन्ने दाबी गर्नुभएको छ ।
सर्लाहीको क्षेत्र नं १ स्थित ईश्वरपुर नगरपालिकाको बयलवास बजारमा शनिबार दिउँसो चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको पाँच वर्ष कांग्रेसले विवेकपूर्ण ढङ्गले तीव्र गतिका साथ देशलाई अघि बढाउने दाबी गर्नुभएको हो । "अबको पाँच वर्ष तीव्र गतिमा कांग्रेसले देश हाँक्ने कुरामा ढुक्क हुन आग्रह गर्दछु," सभापति थापाले भन्नुभयो, "बिचमा अहिलेकै झैँ कहीँकतै दुर्घटना गराउन खोजिए पनि त्यसप्रति कांग्रेस चनाखो रहन्छ ।"
विगत छ वर्ष त्यसै खेर गए पनि अबको पाँच वर्ष खेर फाल्न नहुनेमा उहाँले जोड दिनुभयो । २०७४ पछि कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपा सबै दल सरकारमा जान मरिहत्ते गर्दा गल्ती भएको उहाँको भनाइ थियो ।
उहाँले नयाँ दलको नाममा भ्रम छरेर नागरिकलाई प्रभावमा पार्न खोजिएको भन्दै नवयुवा आन्दोलनपछि सच्चिएर आएको नयाँ पार्टी नेपाली कांग्रेस मात्र भएको तर्क गर्नुभयो । नागरिकका इच्छा र चाहना कांग्रेसले बुझेको भन्दै उहाँले पाँच वर्ष देश हाँकेर जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थापाले विद्यमान ऐन, कानुन बाधक बन्दा निजी क्षेत्र तथा विदेशी लगानीकर्ता हच्किएको उल्लेख गर्नुभयो । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित वार्षिक १० लाख रुपियाँसम्म आम्दानी गर्ने नेपालीले कर तिर्नु नपर्ने विषय आफूले प्रतिज्ञापत्रमै उल्लेख गरेको उहाँले बताउनुभयो ।
सभापति थापाले कांग्रेसको सरकार गठन भएपछि कृषि, प्रविधि र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । सर्लाही–४ बाट पार्टीका उम्मेदवारसमेत रहनुभएका थापा सर्लाही क्षेत्र नं १ को चुनावी सभालाई सम्बोधन गरी रौतहट प्रस्थान गर्नुभएको छ ।
उहाँले शनिबार नै रौतहट, बारा र पर्साका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।