• १६ फागुन २०८२, शनिबार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

बिष्णुप्रसाद पोखरेल
दमक, फागुन १६ गते ।
झापामा सवारी दुर्घटनामा परेर शुक्रबार राति एकजनाको ज्यान गएको छ । बिर्तामोडस्थित हर्कलाल मार्गमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

बिर्तामोड नगरपालिका वडा नं. ४ कञ्चनजंघा स्कुल नजिक बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ चारआली बस्ने २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते पौडेललाई उपचारका लागि तत्कालै बिएण्डसी अस्पताल लगिएको थियो ।

मोटरसाइकल पछाडि सवार कनकाई नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षीय चन्द्र किशोर चापागाईं घाइते हुनुभएको छ । उहाँको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।