• १६ फागुन २०८२, शनिबार

निर्वाचनको अन्तिम तयारी

blog

मलङ्गवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र रुजु गरी प्याकिङ गरिँदै ।तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, फागुन १६ गते  । सर्लाहीमा आगामी २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार मतदान केन्द्रमा पठाउनका लागि अहिले चार वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम भइरहेको छ । 

मतपत्र प्याकिङको काम सकिएपछि मतदान अधिकृतलाई मतपत्र, मतपेटिका र निर्वाचन सामग्री समयमै बुझाएर मतदान केन्द्रमा पठाउने तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । सर्लाहीका ३१२ मतदान स्थल अन्तर्गत ६२८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन हजार सात सय कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 

निर्वाचनमा खटिन काठमाडौँसहित विभिन्न ठाउँबाट जिल्लामा थप मद्दतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत आइसकेका छन् । जिल्लामा उपलब्ध तथा थप मद्दतमा आएका प्रहरी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भइसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । जिप्रअ कडरियाका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिराजन्य पदार्थको बिव्रmीवितरणमा रोक लगाइएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी शुव्रmबारदेखि विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समिति र राजनीतिक दलसमेतको बैठकको निर्णयबमोजिम निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी कडरियाले निर्णयविपरीत सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटसहितका सवारीसाधन शुव्रmबार बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिइरहेको बताउनुभयो । चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । जिल्लामा कुल पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।