लक्ष्मी चन्चलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ । एकसे एक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि (डलर थुप्रियो, अब के गर्ने ? भन्ने किसिमका चित्रविचित्र समाचारहरू आइरहेको परिप्रेक्ष्यमा) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाई खटिइरहेको यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु र लेख्नु मनासिब नहोला किन भने ऊसमेत सम्बद्ध निजी सञ्चारक्षेत्र हरितन्नम अवस्थामा छ त्यहाँ रजगज गरिरहेका केही हात्ती, गैँडा, बाघ, चितुवा, डाइनोसरलाई बिर्सिदिने हो भने । त्यसै पनि यस भेकका विशुद्ध कलमजीवीहरूको कहिले दाहिना थिइन् र लक्ष्मी जाली तम्सुक लेखकहरूलाई कलमजीवी नमान्ने हो भने ?
जे होस, देखेबुझेको कुरा रिट्ठो नबिराई लेख्न त पाइएला कि अभिव्यक्ति स्वतन्त्रताको सूर्य चम्किरहेको यस युगमा ?
एउटा लोकप्रिय गीतको अंशबाट यो लेख अघि बढाऊँ–
बेनीको बजार,
जता माया उतै छ नजर,
उल्लीखोला झरो मोटर
खासमा खाँटी गीतको अन्तिम पङ्क्तिचाहिँ ‘किरेमिरे जाले रुमाल’ हो । त्यसलाई युगानुकूल थोरै मोडिफाइ गरियो, मोटर उल्लीखोला झरेपछि ।
गुल्मी जिल्लाको मगरबहुल क्षेत्रतिर बोलीचालीको भाषामा झर्यो, पर्यो, तर्यो, मर्यो भनिँदैन, झरो, परो, तरो, मरो भनिन्छ । कतिसम्म भने प्रकाश ‘परकास’, प्रेम ‘पेरेम’ र ‘पिरिम’ भइदिन्छ । प्रकाण्ड व्याकरणविद्हरूलाई कतिविधि अजीर्ण हुँदो हो हाम्रो यस्तो बोली सुन्दा ? नेपाली साहित्यका कुनै निष्णातले झर्रो भाषा भनेर यतैतर्फ इङ्कित गरेका पो हुन् कि ?
विद्वान् विशेषले त्यस्तो नाम नराखिदिएको भए ‘हमारी आञ्चलिकताको भला कौन पुछता, भाइसाहब ?’
गुल्मीको जोहाङगाउँको बडीगाड (बडी–ठुलो, गाडखोला) मा पहिलो पटक मोटर (ट्याक्टर–मालवाहकको रूपमा अकिञ्चनलाई त्यतिखेरसम्म भीमकाय पाङ्ग्रा भएका ट्रयाक्टरको प्रयोग भएको सम्झना छ अनि सम्झना छ तिनमा चढ्न केटाकेटी बतासिएको बाइरोडको बाटोमा धुलो उडाउँदै) पुग्दा त्यतातिर प्रचलित परम्परा अनुरूप पक्कै पनि रुपियाँको माला लगाएर स्वागत गरिएको थियो होला । साँच्चै, आमासँग फुर्लुङ्ङ, देउराली, धुतुङ्ग, उल्लीखोला, टाटिम, ध्वाघाट, सिँदुरे हुँदै तालखोला तरेर मावली गाउँ थानापति पुग्दा उल्लीखोला–टाटिम खण्डमा जैविक धुलो पनि टन्नै ‘सेवन’) गरियो होला सास फेर्ने क्रममा । गुल्मीकै टक्सारबाट ज्ञवा, टाटिम हुँदै, धुलोको कुइरीमण्डल सिर्जंदै ट्याक्टरहरूको आवतजावत एक किसिमको क्रमभङ्ग थियो, बर्सौंदेखि ‘चाँदीकटाइ’ गरिरहेको हाम्रो खेतखलिहान भएको खैरेनी बजारका व्यापारी हे¥याहे¥यै भएका थिए । भीमकाय पाङ्ग्रा जडित यी वाहनहरूले खच्चडलाई त प्रतिस्थापन गरे, आर्थिक चहलपहल त बढाए तर पहाडी धुले बाटाहरूको दोहोलो पनि काढे लरीहरूले अमेरिकी सडक ‘पित्र’ पारे जसरी । नुन, मटितेल, चिया, चिनी, चामल, लत्ताकपडा आदि बोकेर ती वाहनहरू रनवन थर्काउँदै उल्लीखोला झर्थे, फर्किंदा बढीमा तिनले ज्ञवाको सार्वजनिक धारा (सर्दीपानी) बाट केही ड्रम र जर्किन पानी भरेर अलि उँचो भूभागमा रहेको टक्सार बजारको तिर्खा मेटाउने ‘लागेपुगेको’ प्रयास गर्थे ।
उल्लीखोला जम्दै गएपछि यदाकदा अन्न ‘बेसाउन’, काफलसित मकै, कोदो आदि साट्न हाम्रा गाउँतिर सोझिने भार्सेली पाइला पनि त्यतैतिर सोझिन थाले ।
चञ्चलाश्री लक्ष्मी झन् छड्किइन्, अब गर्ने के ? पुर्पुरोमा हात राखी, ‘तिमी आउँछौ भन्ने आसैआसमा’ गाई बसिरहने ? गाउँ सोच्दो भयो उल्लीखोला झर्दा, घर फर्किंदा तर उपाय नास्ति । अब त्यो सोच पुरानो भइसक्यो, गाउँ बाँडिएर मधेश, काठमाडाैँ, युरोप, अमेरिका, खाडी, जापानलगायत भूखण्डहरूमा पलायन भइसकेको छ, बाँदर र अन्य वन्यजन्तुलाई शासनसत्ता सुम्पेर आटो खाने पाटा, चामल खाने खेत, घाँसदाउरा धान्ने खेतबारी, घरआँगन मासेर बनाइएका धुले बाटाहरूमा धुलो उडाउँदै ।
मीनबहादुर विष्टजीको प्रसिद्ध कविता ‘.....पहाडमे क्या रक्खा है, होइन त ? बोनस नै भनुँ, यता नेताहरूलाई चाहिँ वन्यजन्तुबाट बालीनाली र मानवजीवनको सुरक्षा दह्रो चुनावी मुद्दाका रूपमा हात लागेको छ ।
नेपथ्यमा गुन्जिरहेको छ ‘पानी और जवानी’ वाला गीत, भक्तजनहरू भक्तिभावमा झुम्दै ताली बजाइरहेछन् । तिनलाई लाग्छ, जीवनदायिनी नदी, खोलाहरूलाई खुरुक्क कौडीका भाउमा बेचेर अनि डिजल, पेट्रोलका महानदीहरू हाम्रा घरआँगन, सडक, कलकारखानामा बगाएर मात्रै स्वदेशमा सुख, शान्ति, समृद्धि भिœयाउन सकिन्छ, अन्य उपाय नास्ति ।
मणिमाणिक्य कौडीका भाउमा अन्त कहाँ बिक्छन् होला हाम्रा गौरवशाली गाउँसहरबाहेक ?
यो प्रश्न ‘घाममा सुकाउँद’ बानेश्वर चोकतिर लागुँ जहाँ कुनै शालिग्राम सिंह (अकिञ्चनले दिएको नाम) मोबाइल फोनमा कड्किरहेको छस् जैसे भी हो ‘शालग्राम’ चाहिए । उता शालिग्राम तस्करहरूको भूस्वर्गमा परिणत मानव सभ्यताको कोक्राे अर्थात् कालीगण्डकी रोइरहेको छ, यता विष्टको ‘....पहाडमे क्या रक्खा है’ भट्याउँदै, अतिप्रतिभावानहरू भूस्वर्गको खोजीमा, दुध र मह बग्ने नदीयुक्त भूभागहरूको खोजीमा गच्छे अनुसार गाउँ, प्रदेश, देश छोड्दा छन् । बडेबडे देशोँमे ऐसी छोटीछोटी बातेँ होती रहती है । क्यों, ठिक कहा ना भाइसाहब ? इस धुँधले वर्तमानमें क्या रक्खा है जहाँसे भविष्य एक महाविपत् सी प्रतीत होती है ?
नेपालमा दशकौँदेखि चलिरहेको आन्दोलनको नयाँ संस्करण मन्चन भएको, त्यसअघि एक युवा उद्यमीले ठगिएर, भ्रष्टाचारले आजित भएपछि आत्मदाह गरेको नीतिगत भ्रष्टाचारको एक केन्द्र छाडेर, अनिश्चित भविष्यबाट वाक्कदिक्क भएर आफ्नै ‘जेनजी’ युगको उल्लीखोला फर्किन्छ अकिञ्चन ।
स्वर्ग अन्त कहाँ होला ?
पुलको मुखैछेउ, उल्लीखोला । क्रिमपाउडर नलगाएको, बडेमाको चियादानीमा चिया उम्लिरहेको छ, चिया पारखीहरू बेन्चमा अटेसमटेस गर्दै बसिरहेका छन्, कोही चिया पिउँदै अनि ‘सिया’ पनि लिँदै, कोही पालो कुर्दै त्यो त्यस जमानाको ‘वाइरल’ (अत्यन्त लोकप्रिय) चिया पसलमा ।
उबेला उल्लीखोला ओहोरदोहोर गर्नेहरूका लागि त्यो होटेल विशेष एउटा चौतारो जस्तै थियो । होटेल (त्यतातिर चिया पसललाई पनि होटेल नै भनिन्छ) को मुख्य विशेषता के थियो भने चियाको भाउ टाटिमको उकालो चढ्दै गर्दा पनि त्यहाँ भने अलि पछिसम्म नै को रु. एकमा एक कप दुध चिया पाइन्थ्यो ।
त्यतिखेर हाम्रो भेगमा पाइने एक मात्र मोती डस्ट चियाको ‘कमाल’ पक्कै होइन होला न त ती होटेल सञ्चालकको ‘तप’ ले पग्लिएर कुनै अप्सरा उल्लीखोला किनारमा प्रकट भई एउटा अक्षय कित्ली नै दिइन् होला जसका प्रतापले उनले दीर्घकालसम्म मो रु. एकमै लोकलाई चियापान गराई राम्रै व्यापार गर्न सके ।
चुकौनी, डोनट, बिस्किट आदि बिक्रीबाट प्राप्त आम्दानीले चिया व्यापारबाट हुने घाटा सहजै पूर्ति गर्थे कि तिनले ?
कलिको प्रभाव नै भनुँ, त्यहाँ पनि अलि पछि चियाको मूल्य उकालो लागि मो रु. दुई पुग्यो ।
केकस्तो ‘जुक्ति’ गरेर तिनले लामो समयसम्म त्यति सस्तोमा चिया ‘सर्व’ गर्न सके, त्यस्तो सफल व्यापारिक मोडल निर्माण गर्ने क्रममा के कति समस्या भोगे, त्यो सबै ज्ञान, सबै अनुभव उनीसँगै कालकवलित भयो । वयोवृद्धकालमा आफ्नो होटेलमा ती व्यक्तिले थप एउटा विशेषता भित्र्याए । थप किन भनियो भने ‘मै पनि झिल्के हुने’ उमेरमा उनले त्यस्ता थुप्रै विशेषता भित्र्याएका थिए भन्ने चर्चा चल्ने गर्थे । अलि सफल व्यक्तिकै चर्चा परिचर्चा हुने न हो । जे होस्, विशेषताको प्रवेशपछि चिया पसलका काला भित्ताहरू चम्किए जस्ता लाग्न थाले, चिया पारखीको लर्को झन् लम्बियो, चिया, डोनट, चुकौनी आदिको व्यापार पनि अकासियो ।
तर नथिङ्ग लास्ट्स फरेव, राइट ?
एकदिन सुनियो, ती वयोवृद्धकी अधुनातन विशेषता त सिरीखुरी समेटेर अलप पो भइछन् ।
उल्लीखोलासँग अकिन्चनको भेट हुन जुग लाग्यो, त्यतिखेरसम्म त बडीगाड कति टेथिस सागर बगिसकेको थियो होला खोइ । करिब २५ वर्षअघि संयोगवश घरबाट मजुवा जाने व्रmममा पुलका मुख, उल्लीखोलाको त्यस बुकुरोमा एउटा प्राचीन पात्र देखिए । लामा खुट्टा, कृशकाय शरीर, पाइला सार्न पनि सकस । तिनै सफल व्यवसायी थिए ती व्यक्ति । बुढेसकालको त्रासदी देखेर अकिञ्चनका नौनाडी गल्दा भए ।
वक्त ने किया,
क्या हसीं सितम
तुम रहे न तुम
हम रहे न हम
अकिञ्चनका आँखाले ती पौराणिक जस्ता लाग्ने पात्र मात्र होइन, उल्लीखोला बजार नै श्रीहीन देख्यो ।
सम्झिल्याउँदा लाग्छ, जोहाङ, भार्से, जुनियाँ आदि गाउँबाट सुख अनि समृद्धिको खोजीमा खैरेनी फाँटमा बस्ती सरेसँगै चन्चलाश्री पुनः खैरेनी सरिन् त के आश्चर्य भो ?
उल्लीखोला बजार जति फैलनुपर्ने थियो फैलिसकेको थियो, अब सङ्कुचनबाहेक के विकल्प थियो र उसँग जस्तो लाग्यो ।
चित्त बुझाउने बाटो भनुँ ! कुनैबेला जिल्लाको सदरमुकामकै रूपमा परिकल्पना गरिएको खैरेनी फाँटसँग भार्से, रिम्मा, थोर्गा, रिडी, तम्घास मात्र होइन ढोरपाटनसमेत सडक सञ्जालमार्फत जोडिएको छ कालीगण्डकी कोरिडोरका माध्यमले । त्यही कोरिडोरमा पर्ने उल्लीखोला समृद्धिको अर्को युग कुरिरहेछ ।कर्नल स्यान्डर्सको लिगेसी बोकेको केन्टकी फ्राइड चिकन जस्तै, बाजेको सेकुवा जस्तै, बरमझियाको पेडा जस्तै ती चिया पसलेको नाममा ब्रान्ड नै स्थापित गर्न सकिन्थ्यो कि ? उनका शाखासन्तान र सम्बन्धित गाउँपालिकाले यसबारे सोचे हुन्थ्यो ।
अन्त्यमा,
करिब २५ वर्ष लामो व्यावसायिक जीवनमा आर्जेको अनुभवका आधारमा यो कलमजीवी भन्छः यस देशमा गरिखानेलाई असाध्यै दुःख छ, ठगिखानेलाई चैन छ ।
हुन त सीमापारिका कतिपय व्यापारिक औद्योगिक पृष्ठभूमिका व्यक्ति नेपालमा हावामा पैसा तैरिरहेको देख्छन् रे, त्यताका सिसमहलबाट सूक्ष्मदृष्टि दिँदा त्यस्तो देखिन्छ पनि होला, तिनीहरूसँग बल्छी थापी नोट निकाल्ने विशेष ज्ञान, सिप, प्रविधि भएको बुझिन्छ तर यहाँका हावा महलबाट नियाली हेर्दा कहालीलाग्दो सङ्कट मात्र देख्छ, धुवाँको मुस्लो मात्र देख्छ, रुपियाँ–पैसा तैरिरहेको कतै देख्दैन, यो सानो लोक आफ्नै अक्षबाट उछिट्टिन्छ कि जस्तो गरी घुमिरहेको अनुभव गर्छ अकिञ्चन । अकिञ्चनले पुनः आँखा जँचाउनुपर्ने भएको हो कि, वर्टिगोको लक्षण हो कि सङ्कट साँच्चै चुलिएको हो ?