कामविशेषले पुरानो दराज खोल्दै छु । नत्र त म प्रायः यो दराज खोल्दै खोल्दिनँ । पुराना कागजपत्र, मेरा जीवनभरका प्रमाणपत्र यो दराजमा थन्किएर रहेका छन् । अब मलाई मेरो प्रमाणपत्रको कुनै आवश्यकतै छैन । अवकाश जीवनमा प्रमाणपत्रको महत्व खासै नहुँदो रहेछ ।
तर आज यो दराज खोलेकी छु । खोल्दै जाँदा कागज हेर्दै जान्छु । आफ्ना प्रमाणपत्र एक/एक गरेर हेर्छु । मलाई आज खासै चाख लाग्दैन ती प्रमाणपत्रमा । एउटा डायरी पाउँछु ।
जहाँ जाँदा पनि एउटा डायरी, कलम लिएर जानु र दिनभरिका घटना लेख्नु मेरो पुरानो बानी हो । दिनभरिका कुरा बेलुका सम्झी सम्झी लेख्न मलाई मन पर्छ । त्यसैले उत्सुकतावश के लेखेकी रहेछु भनेर डायरी पल्टाउँछु ।
केही वर्षअगाडि ड्यानिडा फेलोसिप प्रोग्राम अन्तर्गत नेपाल सरकारको भिन्न निकायका हामी पाँच जना डेनमार्क गएका थियौँ । पहिलो पटक पाँचहप्ते बसाइ र दोस्रो पटक तीनहप्ते गरेर हामीले डेनमार्कमा आठ हप्तासँगै बिताएका थियौँ । पहिलो बसाइमा आफ्नो कामको विवरण पेस गर्नु पथ्र्यो । दोस्रो बसाइमा विवरण अनुसार आफ्नो देशमा गएर आफूले काम गर्ने कार्यक्षेत्र सम्बन्धित विषयको कार्यपत्र पनि पेस गर्नु पथ्र्यो । मेरो विषय लेखा परीक्षण भएको हुनाले मैले लैङ्गिक लेखा परीक्षणको विषयमा कार्यपत्र पेस गरेकी थिएँ ।
सोही आठहप्ते बसाइका क्रममा ‘पाठक सर’ हामी सबैको मनमुटुमा घुलमिल भइसक्नुभएको थियो । हामी पाँच जनामध्ये पाठक सर महालेखा नियन्त्रक कार्यालयबाट आउनुभएको थियो । उहाँ हामीमध्ये पदीय र उमेरका हिसाबले सिनियर हुनुहुन्थ्यो । त्यसै सिलसिलामा मैले डेनमार्कबाट फर्केर आउँदा हवाईजहाजभित्र मनका कुरा यो डायरीमा लेखेकी रहेछु ।
डायरी पल्टाउँछु । बिस्तारै म पढ्दै जान्छु । पढ्दापढ्दै आँखाअगाडि पाठक सर आउनुहुन्छ । पाठक सरलाई सम्झँदै म डायरी पढ्दै जान्छु ।
आज हाम्रोसामु पाठक सर हुनुहुन्न तर उहाँसँग मेटिइसकेका याद यो डायरीले सम्झाउँदै जान्छ । पाठक सरका प्रत्येक क्रियाकलाप मेरा अघिल्तिर नाच्न थाल्छन् ।
पाँच जनाको समूहमा जहाजभित्र म पछाडि छु । तीन जनाको सिट हो यो । दुई जना अपरिचित छन् मेरा लागि । ‘लोग्नेस्वास्नी’ हुन् कि म ठम्याउन सक्दिनँ । चुपचाप टिभी हेरिरहेका छन् । जहाजभरि यात्रु हुँदाहुँदै पनि आज म जहाजभित्र नितान्त एक्लो छु । जिन्दगी कति अनौठो छ... कति उदेकलाग्दो छ... कति अप्ठ्यारो छ... सबैको नजरमा म डेनमार्क गएकी हुँ तर म आफैँभित्र हराएकी छु । “बुझ्यौ ढकाल, म ५५ वर्षको भए पनि मेरो मन भर्खर २५ वर्षको तन्नेरी छ,” पाठक सरले हाँस्दै भन्नुभयो । पाठक सर साँच्चै रमाइलो मान्छे हो ।
“हजुरको मेडिटेसनले काम ग¥यो नि सर,” ढकाल सर पनि हाँस्नुहुन्छ । “त्यसैले त म यस्तो जवान देखिन्छु, मनले अनि तनले पनि,” उहाँ भन्न पछि पर्नुहुन्न । उहाँ बिहानबेलुका ध्यान गर्नुहुन्छ । कालीका भक्त पनि हुनुहुन्छ ।
ढकाल सर साह्रै भद्र मानिस ! साह्रै असल मानिस ! हामी डेनमार्कमा हुँदा उहाँ कार्यपत्र लेख्नेदेखि लिएर सबै कुरामा सल्लाह र सुझाव दिनुहुन्थ्यो ।
डेनमार्कको लिटिङ मरमेड जस्तै युवती हाम्रो अगाडि बसेकी छ । “ठ्याक्कै उस्तै उस्तै अनुहार, उस्तै लज्जालु आँखा मुन्टो बटारेकी बुझ्नुभयो ? म्याडम ! यो कतै लिभिङ मरिमेड त होइन..?” पाठक सर मलाई प्रश्न गर्नुहुन्छ ।
हाम्रा आँखा युवती नियाल्छन् । पाठक सर युवती हेर्दै लेख्न थाल्नुहुन्छ । उहाँलाई केही कुरा मनमा लाग्यो भने लेखिहाल्ने बानी रहेछ । लिटिङ मरमेड डेनमार्कका प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एन्डरसद्वारा लेखिएको एक लोकप्रिय परिकथा हो । यो कथाले प्रेम, त्याग र सपनाको सुन्दरता तथा विपनाको दुःख सबै देखाएको छ । जहाजभित्र पाठक सरको विषयमा लेखिएका हरफ पढ्दै जान्छु । सेतो कमिज, कालो पाइन्ट अनि ढाकाटोपीमा युनिभर्सिटीमा पहिलो पटक आउँदा उहाँ गाउँको नेपाली बेहुला जस्तो देखिनुभएको थियो ।
युनिभर्सिटीमा जाँदा मैले उहाँलाई भनेकी थिएँ– “सर, हजुर त ठ्याक्कै बेहुला जस्तै लाग्यो आज ।
उहाँ निष्कलङ्क फुर्केर हाँस्नुभएको थियो– हाहाहा...।
साँच्चै, पाठक सर सानो बालक जस्तै पवित्र हुनुहुन्थ्यो, कलकल बग्ने गङ्गा जस्तै । अनि मनका निकै उदार र दयालु भीष्म पितामह जस्तै । हामी पाँच जनाको समूहमा उमेर र पदले माथि भए तापनि उहाँमा कुनै घमण्ड थिएन । उहाँमा कुनै मोह थिएन । समय समयमा उहाँ मैन जस्तै पग्लिनुहुन्थ्यो, उतिखेरै गम्भीर भएर बस्न सक्ने । हामी पाँच जनामा कुनै लाज, डर, त्रासको घेरा थिएन । डेनमार्कको छोटो बसाइमा हामी पूरै खुलिसकेका थियौँ । पारिवारिक वातावरण बनिसकेको थियो । हामीसँग एक जना अविवाहित महिला थिइन् । निरा उनको नाम थियो ।
“ए म्याडम ! भेट्न ढिला भयो,” उहाँ निरासँग ठट्टा गर्न पछि पर्नुभएन । “के गर्नु... १० वर्षपहिला भेटेको भए राम्रो हुन्थ्यो,” उनी पनि भन्न बाँकी राख्दैन थिइन् ।
“काठमाडौँकी नेवारनी,” उहाँ भटभट्याउन थाल्नुहुन्थ्यो ।
“ल, सर बधाई छ,” म हाँस्दै उहाँलाई कोट्याउँथेँ ।
उहाँ तत्कालै गम्भीर हुनुभयो ।
हो, उहाँ निकै खाइलाग्दो मान्छे । अग्लो शरीर, टम्म मिलेको ज्यान, बोलिरहनुपर्ने बानी, हसिलो अनुहार ।
सोच्छु– अविवाहित हुँदा पक्कै पनि उहाँसँग धेरै लोभिए होलान् । उहाँलाई धेरैले आँखा लगाए होलान् । हाम्री नेवार्नी निरा म्याडम जस्तै । “म तिमीलाई प्रेम गर्छु,” धेरैको मनभित्र अड्कियो होला । कतिलाई उहाँले ‘हुन्छ’ भन्नुभयो होला । कतिलाई ‘नाइँ’ भन्नुभयो होला । अनि कतिलाई उहाँले हामीलाई जस्तै ‘राम राम के भनेको होला ?’ हाँस्दै भन्नुभयो होलान् ।
बङ्गलादेशी नजुल उहाँसँग खुबै मिल्थ्यो । ऊ पनि पाठक सरलाई जिस्क्याउन पछि पर्दैनथ्यो । अनि ५५ बर्से उमेरमा पनि २५ बर्से ठिटो जस्तै मुसुमुसु हाँस्नुहुन्थ्यो पाठक सर ।
नेपाली समाजमा, अझै नेपाली कर्मचारीतन्त्रमा सुहाउने मान्छे होइनन् पाठक सर । पदोन्नति हुनेबित्तिकै बुद्धि र विवेक पनि पदोन्नति नै ठान्ने हाम्रो कर्मचारीतन्त्रको संस्कृतिबाट टाढा हुनुहुन्थ्यो पाठक सर । पहिलो पटकको भेटमै उहाँले मप्रति पनि निकै अपनत्व देखाउनुभएको थियो । अनि म आफ्नो कार्यालयको हाकिम र पाठक सर दाँज्न थाल्थेँ ।
छेउबाटै गाडी गुड्दा ‘तपाईं पनि जाने रमाजी ?’ भन्न नसक्ने हाम्रा हाकिम र नाम मात्रको चिनारीले भिसाका लागि दूतावासमा जान गाडी लिएर मलाई लिन आउने पाठक सर, म तुलना गर्न पछि पर्दिनँ । कति महान् छ पाठक सरको विचार ।
“साँच्चै पाठक सर, तपाईं महान् हुनुहुन्छ,” मेरो मुखबाट फुत्किन्थ्यो । “राम राम के भनेको,” उहाँ आफ्नो थेगो भन्न बिर्सनु हुन्नथ्यो । “बुझ्नुभयो म्याडम, मैले धेरै गर्नु छ । ढकाल सर जस्तै हुनु छ । रियल्ली यु आर ग्रेट, ढकाल सर,” उहाँ समय समयमा बडबडाउनुहुन्थ्यो ।
“यु आर टु ग्रेट सर,” म हाँस्दै जवाफ दिन्थेँ ।
साँच्चै पाठक सर, म तपाईंलाई, तपाईंको अबोधपनालाई, तपाईंको केटाकेटी बानीलाई अनि तपाईंको राम राम थेगोलाई, मैले धेरै गर्नु छ भन्ने तिम्रो मिठो र दृढ अटोटलाई बिर्सन सक्दिनँ । कहिले तपाईं सगरमाथा हुने र पलभरमै पग्लेर समुद्र हुने तपाईं नरमपनालाई सलाम गर्छु– “यु आर टु ग्रेट, पाठक सर ।”
बिस्तारै पाना पल्टाउँछु । अगाडिपट्टि केही पनि लेखेकी छैन । खाली छ । खाली पानालाई हेरिरहन्छु...हेरिरहन्छु... ।
पाठक सर, तीर्थराज ढकाल सर, निरा म्याडम, अफ्रिकन, इन्डियन, बङ्गलादेशी सबै साथी सम्झनामा उदाउँछन् । डेनमार्कमा सँगै बिताएका ती आठ हप्ता चलचित्र झैँ नाचिरहन्छन् । डायरीले डेनमार्कको सम्झनालाई ताजा गराएको छ ।
बिस्तारै डायरी बन्द गर्छु । बिस्तारै डायरी पहिलेकै ठाउँमा राख्छु । के खोज्न दराज खोलेकी थिएँ, त्यो पनि मैले बिर्सिएछु ।
बिर्सिसकेको याद, पाठक सर जस्ता व्यक्तित्व यो दराजभित्रको डायरीले झुल्काएको छ । सायद डायरी यसैका लागि लेखिन्छन् होला– केही कुरा घचघच्याउन, केही कुरा सम्झना दिलाउन, केही कुरा सिकाउन ।
दिन व्यस्त भएर बितिरहँदा मानिस धेरै कुरा बिर्संदै जाँदा रहेछन् । बिहानको पहिलो हाँसो, साँझको हल्का थकान, मित्रसँगको छोटो भेट, पुस्तकमा भेटिएको गहिरो वाक्य वा आकाशमा देखिएको कुनै सुन्दर बादल, यस्ता क्षण मनमा एकछिन चम्किन्छन् फेरि हराउँछन् । डायरीमा लेखिएका ती क्षण भने हराउँदैनन्– समय बितेपछि पनि उस्तै चमक, उस्तै सुगन्ध, उस्तै माया लिएर पानाभित्रबाट फेरि फेरि फर्केर आउँछन् ।
डायरी लेख्ने प्रकिया आफैँ एउटा ध्यान जस्तै लाग्यो मलाई । कलम समात्दा मनमा बाँधिएका गाँठा फुक्लिन थाल्छन् । अनि शब्दले तिनलाई चिन्दै चिन्दै पानामा राखिदिन्छ । दुःखेका कुरा लेख्दा मन हल्का हुन्छ, खुसीका कुरा लेख्दा आत्मा उज्यालो हुन्छ र गुमाएका अवसरबारे लेख्दा भविष्य पथ अझै स्पष्ट देखिन थाल्छ ।
कहिलेकाहीँ डायरीका पानामा आँसु झर्छ तर त्यो आँसु पनि अर्थहीन हुँदैन । त्यो आँसुले पानामा दाग त पार्छ तर आत्मामा पारदर्शिता पनि छोडिदिन्छ । दुःखका क्षण लेखिँदा मानिस आफैँसँग साह्रै नजिकिन्छ । जसरी पौडी खेल्न सिक्ने बालक पानीको गहिराइ बुझ्दै जान्छ, त्यसरी नै डायरी लेख्ने मानिस आफ्नो मनको गहिराइ बुझ्न थाल्छ र धेरै वर्षपछि जब जीवनका अनेक मोड पार गरिसकिएको हुन्छ, डायरीका पुराना पाना पल्टाउँदा अद्भुत अनुभूति हुन्छ ।
कहिले कुनै पुरानो बाल्यस्मृति मुस्कान भएर फिर्ता आउँछ, कहिले कुनै बिर्सिएको तितो गल्ती फेरि देखिन्छ । कहिले आफ्नै पुराना स्वप्नहरू पढ्दा मन अचम्मले चम्किन्छ– “यो सपना त मैले कहिल्यै त्यागेको रहेनछु ।” डायरी केवल स्मृतिसङ्ग्रह होइन, यो आत्मबोधको दीपक हो ।
हामी कहाँ कहाँ हिँड्यौँ, कसरी बढ्दै गइरह्यौँ, कुन क्षणले हाम्रो हृदय बदलिदियो– यी सबै कुरा डायरीले जीवन्त तरिकाले सम्झाइरहन्छ । समयको कठोरता केही हुँदैन, जसले डायरी लेख्छ, ऊसँग सधैँ एउटा सुरक्षित ठाउँ रहिरहन्छ, जहाँ जीवनका सबै रूपरङ संरक्षित, संवेदनशील र सुन्दर भएर बस्छन् ।
यसैले डायरीका पानाभित्रका स्मृतिहरू समयका छायाचित्र मात्र होइनन्, ती जीवनका सुगन्धित फूल हुन्, जसले बर्सेनि नयाँ अर्थ, नयाँ अनुभूति र नयाँ उज्यालो छोडिरहन्छन् ।
उफ् ! म त विचारमा पो डुब्न पुगेछु । सोचको दुनियाँबाट बाहिर आउँछु । यसो घडी हेर्छु । दिनको ४ बजिसकेको हुन्छ । वर्तमानमा फर्किन्छु । डायरीले आज मलाई निकै कुरा सिकायो, निकै कुरा पढायो, निकै कुरा सम्झायो । बिस्तारै उठ्छु । दैनिक कार्यमा संलग्न हुन्छु ।